अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

शुक्रबार, पुस २५, २०८२

काठमाडौं । पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् । यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् । मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन् । अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभियान सम्पन्न गरेको थियो । यो सफलतासँगै मगर दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति मध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन् । विश्वभर पाँच सयभन्दा कम आरोहीले मात्र हासिल गरेको यो उपलब्धि पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित मानिन्छ । सफल आरोहणपछि मगरले यो अभियान केवल शिखर चुम्ने विषय मात्र नभएको बताए । ‘सपना, समर्पण र निरन्तर प्रयासले असम्भव पनि सम्भव हुन्छ,’ भन्दै उनले टोली, परिवार र समर्थकहरूलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिए । रोल्पामा जन्मिएका मगर २०१० मा अफगानिस्तानमा भएको आइडी विस्फोटबाट घाइते भएका थिए । सन् २०२३ मा सगरमाथा आरोहण गर्ने पहिलो दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति बनेपछि उनले पर्वतारोहणलाई समावेशीकरण र प्रेरणाको माध्यम बनाउँदै आएका छन् ।  हिमालयदेखि अन्टार्कटिकासम्मको उनको यात्रा आज दृढता, साहस र समावेशी पर्वतारोहणको प्रेरणादायी कथा बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार