सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । धार्मिक तथा सामाजिक विवादका कारण उत्पन्न तनाव नियन्त्रण बाहिर जान थालेपछि पर्सा प्रशासनले वीरगञ्जमा कर्फ्यू लगाएको छ । दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक मोड लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका मुख्य तथा संवेदनशील क्षेत्रमा कर्फ्यू लगाइएको छ । कर्फ्यू आदेश, उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको सीडीओ कार्यालयको सूचनामा उल्लेख छ । यसअघि प्रशासनले दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको भए पनि स्थिति थप जटिल बनेपछि कर्फ्यूकै निर्णय लिनुपरेको प्रशासनको भनाइ छ।
कुन–कुन क्षेत्रमा छ कर्फ्यू ? वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र सभा, जुलुस र भेला गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। पूर्व बाइपास सडक खण्डदेखि पश्चिम सिर्सिया पुल र उत्तर पावर हाउस चोकदेखि दक्षिण शंकराचार्य गेटसम्म कर्फ्यु लगाउने निर्णय भएको हो ।
टिकटकबाट सुरु भएको विवादले वीरगन्ज तनावग्रस्त, ८ जिल्लामा ‘हाई अलर्ट’ दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन् । आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।