भेनेजुएलामाथि अमेरिकी आक्रमण

राष्ट्रपति निकोलस मादुरोसहित पत्नी अमेरिकी कब्जामा 
शनिबार, पुस १९, २०८२

काठमाडौं । ल्याटिन अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले शनिबार बिहानै भीषण हवाई हमला गरेको छ । अमेरिकाको हवाई हमालपछि भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तुरुन्तै सैन्य बल तैनाथ गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी आक्रमण भएको पुष्टि गर्दै आक्रमणलगत्तै त्यहाँका राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नीलाई गिरफ्तार गरिएको जानकारी दिएका छन् ।  उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा आक्रमण सफलतापूर्वक सुरु गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ।’ ट्रम्पले अगाडि लेखेका छन्, ‘यो अपरेसन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको थियो। विवरण चाँडै जारी गरिनेछ । आज बिहान ११ बजे (स्थानीय समय) मार–ए–लागोमा पत्रकार सम्मेलन हुनेछ।’

‘गिरफ्तार गरिएका’ भेनेजुएलाका राष्ट्रपति दम्पतीविरुद्ध मुद्दा चलाउने अमेरिकाको घोषणा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन् ।   बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ।’ ‘उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्’, उनले थपेकी छन् ।  यद्यपि उनले मादुरोकी श्रीमतीले चाहिँ के कस्ता आरोपको सामना गर्नेछिन् भन्ने कुरा स्पष्ट पारिनन् । ट्रम्पले यसअघि भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकामा लागुपदार्थ तस्करी र अपराधमा संलग्न भएको आरोप बारम्बार लगाइरहेका छन्। यसैबीच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको आक्रमणपछि राष्ट्रपति मादुरोको दम्पती को अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण मागेकी छन् । उनले भनेकी छन्, ‘भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।’ अमेरिकी अधिकारीहरूले भने सीबीएस न्युजसँग राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताएका छन्। हवाई हमालका कारण राजधानीमा ठूलो विस्फोट भएको छ । राजधानी कराकसमा ​विस्फोट ठूलो क्षेत्रमा भएको सीएनएनले जनाएको छ । काराकसमा कम्तिमा सातवटा विस्फोटको आवाज सुनिएको युरोन्युजले जनाएको छ । विस्फोटपछि शहरका केही क्षेत्रहरू बिजुलीविहीन भएको सीएनएनले रिपोर्ट गरेको छ ।  विस्फोटमा अमेरिकी संलग्नता भएको अड्कल गरिँदै छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई ‘आतङ्ककारी’जस्तो व्यवहार गरेको आरोप लगाउँदै अमेरिकी सेना भेनेजुएलालाई जल–सीमाबाट घेर्दै आएको थियो । केही समयअघि एक तेल ट्याङ्करसमेत कब्जामा परेको घटना सार्वजनिक भएको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भेनेजुएलामा कथित लागूपदार्थ तस्करी नेटवर्कहरूविरुद्ध अमेरिकाले नयाँ कारबाही गर्ने तयारी गरिरहेको चेतावनी दिँदै आएका थिए ।  अक्टोबरमा, ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रबाट आप्रवासी र लागूपदार्थको अवैध प्रवाहलाई रोक्न भेनेजुएलाभित्र सञ्चालन गर्न सीआईएलाई अधिकार दिएका थिए ।
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार