नेपालको विविधता नै राष्ट्रिय शक्ति : मुख्यमन्त्री कडेल

समाजमा विभाजन ल्याउने गतिविधिहरूबाट सतर्क रहन आग्रह
बिहीबार, पुस १७, २०८२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतायुक्त देश भएको उल्लेख गर्दै विविधता नै राष्ट्रिय शक्ति भएको बताएका छन् । उनले विविध संस्कृतिहरू, भाषा, धर्म, पहिचान र मूल्य–मान्यताबीचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको बताए । क्रिसमस तथा नयाँ वर्ष २०२६ को सुखद उपलक्ष्यमा सुर्खेतमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबीच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न जरुरी रहेको बताए । चाडपर्वहरू विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाजलाई जोड्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । मुख्यमन्त्री कँडेलले विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै चाडपर्व मनाउन सकिए विविधतालाई एकतामा रूपान्तरण गर्न सकिने बताए। विविधतालाई खलल पु¥याउने कुनै पनि प्रयासलाई सबै मिलेर अस्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा विभाजन ल्याउने गतिविधिहरूबाट सतर्क रहन आग्रह गरे । समाज आपसी भरोसा र विश्वासको जगमा अघि बढिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय सामाजिक सद्भावको वातावरण थप मजबुत बन्दै गएको बताए । सबै समुदायलाई निर्भीकतापूर्वक आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक सहिष्णुता प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरे। सबै धर्म, संस्कृति र समुदायलाई समान सम्मान र अवसर प्रदान गर्ने गरी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। विविधतालाई संरक्षण गर्दै एकता मजबुत बनाउन सकिए मात्र समृद्ध र समावेशी समाज निर्माण सम्भव हुने मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार