महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

बुधबार, पुस १६, २०८२

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ललितपुर जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । महासंघ ललितपुर शाखा र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएसँगै पुरस्कार औपचारिक रूपमा स्थापना गरिएको हो । सहमति–पत्रमा महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र मुक्तिनाथ आचार्यले हस्ताक्षर गरेका छन् । महासंघ ललितपुर शाखाका अनुसार उक्त पुरस्कार प्रत्येक साधारण सभाको अवसरमा वितरण गरिनेछ। पुरस्कार महासंघ ललितपुर शाखासँग आबद्ध क्रियाशील पत्रकारहरूको वार्षिक कार्य मूल्याङ्कनका आधारमा उत्कृष्ट पत्रकारलाई प्रदान गरिने व्यवस्था गरिएको छ । सहमतिअनुसार मुक्तिनाथ आचार्यले पुरस्कार स्थापनाका लागि महासंघ ललितपुर शाखालाई दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । यसमा महासंघ ललितपुर शाखाले थप ५० हजार रुपैयाँ गरी तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ । अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट मात्र पुरस्कार वितरण गरिने महासंघ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए । उनका अनुसार उक्त पुरस्कार स्वर्गीय सम्राट आचार्यको स्मृतिमा स्थापना गरिएको हो । सम्राट आचार्य ‘युवा आलोक मासिक’ पत्रिकाका सम्पादकसमेत रहेका थिए । महासंघ ललितपुर शाखाका अनुसार पुरस्कार विशेष रूपमा क्यान्सर रोगका विषयमा कलम चलाउने तथा सोसम्बन्धी अनुसन्धानात्मक लेख लेख्ने पत्रकारलाई प्रदान गरिनेछ । कार्यक्रममा बोल्दै अग्रज पत्रकार प्रभुनारायण बस्नेतले पुरस्कार स्थापना सकारात्मक पहल भएको बताए। उनले यस्ता पुरस्कारले पत्रकारितामा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरे । स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यले छोरा सम्राटले पत्रकारितामार्फत समाजका विषय उठान गर्ने प्रयास गरेको स्मरण गर्दै उनको जन्मोत्सवको अवसर पारेर पुरस्कार स्थापना गरिएको जानकारी दिए ।  स्वर्गीय सम्राट आचार्यको गत पुस १६ गते २७ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको उनका दाजु समर्पण आचार्यले जानकारी दिए । महासंघ ललितपुर शाखाले यसअघि ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ समेत स्थापना गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार