दैनिक भास्कर र भारत समाचारको कार्यालयमा आयकर विभागको छापा

शुक्रबार, साउन ८, २०७८

नयाँदिल्ली । कोरोनाभाइरस महामारीप्रति सरकारले जनाएको प्रतिक्रियाको आलोचना गरेका दुई वटा मुख्य सञ्चार माध्यहरूको कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ । अधिकारीहरूले भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाले कर छली गरेको विषयबारे अनुसन्धान गरिहरेको जनाएका छन् । ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ । आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रतामाथि जानिबुझी गरिएको हमलाको संज्ञा दिएका छन् । तर भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन् । 'निकायहरूले आफ्नो काम गर्छन् । तिनीहरूको सञ्चालनमा हामी हस्तक्षेप गर्दैनौँ', उनले भने । हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा व्यापक रूपमा पढिने दैनिक मध्यमा पर्छ । कोरोनाभाइरस महामारीकाबीच उक्त पत्रिका र भारत सञ्चारले अक्सिजनको र अस्पतालमा शय्याको अभाव जस्ता विषयमा सरकारले गरेको काम पर्याप्त नरहेको भन्दै समाचार सम्प्रेषण गरेका थिए । कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे पनि ती सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए । दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको बताएका छन् । 'छापा हाम्रो आक्रामक रिपोर्टीङ्गको नतिजा हो' दैनिक भास्करका केन्द्रीय सम्पादक ओम गौरले द वासिङ्टन पोस्टसँग कुरा गर्दै भने, 'अन्य केही सञ्चारमाध्यमहरू भन्दा फरक हामीले अक्सिजन र अस्पताल शय्याको अभावका कारण कसरी मानिसहरूले ज्यान गुमाइरहेका छन् भन्ने विषममा समाचार छापेका थियौँ ।'

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार