सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमार्फत दुबइमा सञ्चालन गरिएको इन्टर्नसिप कार्यक्रम यतिबेला विवादको घेरामा परेको छ । इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लागेपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ । मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् । सामाजिक सञ्जालमा कलेजविरुद्ध नकारात्मक टिप्पणीहरू बढिरहेका छन् । तर सोही इन्टर्नसिप कार्यक्रममा सहभागी विद्यार्थी निर्जल रन्जितले कलेज प्रशासन र विद्यार्थी दुवै पक्षमा कमजोरी रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले इन्टर्नसिपका क्रममा समस्या आएको स्वीकार गरेपनि ती समस्यालाई लिएर तथ्यहीन आरोप लगाउनु उपयुक्त नभएको धारणा राखे । रन्जितका अनुसार उनले फाउन्डेसन कोर्स पूरा गरेपछि दुबइस्थित टीडब्ल्यूआईमा इन्टर्नसिपका लागि गएका थिए । सुरुआती चरणमा सिभी सम्बन्धी केही समस्या देखिएको उनले बताए । तर समस्या देखिएलगत्तै कलेजका विभागीय प्रमुखसँग कुरा गर्दा कलेजले सक्रिय रुपमा सहयोग गरेको उनको भनाइ छ । ‘इमिरेट्स कार्ड नआएसम्म काम गर्न नमिल्ने अवस्थामा कलेजले प्रोफेसनल सिभी सेसन राख्यो, शिक्षकहरूले व्यक्तिगत रूपमा सिभी बनाइदिने र कक्षा बाहिर समय दिएर पनि सहयोग गर्नुभयो,’ उनले भने । उनका अनुसार इन्टर्नसिपमा काम पाउने विषय पहिलेदेखि नै ‘क्षमतामा आधारित’ हुने कुरा अभिभावक र विद्यार्थीलाई स्पष्ट गरिएको थियो । ‘काम कन्फर्म हुन्छ भनेर कसैले पनि भनेको थिएन, विद्यार्थीको क्यापाबिलिटी अनुसार अवसर पाइन्छ भनिएको थियो,’ उनले स्पष्ट पारे । कुराकानीमा रन्जितले इन्टर्नसिपका क्रममा सबैभन्दा ठूलो असर नेपालमा भएको आन्दोलन र विरोध प्रदर्शनले पारेको दाबी गरेका छन् । ‘प्रोटेस्ट भएपछि नेपाली विद्यार्थीहरूको इमेज नै डाउन भयो । सिभी एक्सेप्ट भएपनि पासपोर्ट नम्बरका कारण सरकारी नियमअनुसार हामीलाई तत्काल काम दिन नसकिएको अवस्था आयो,’ उनले भने । अहिले भने समस्या समाधान भइसकेपछि विभिन्न ठाउँबाट कामका लागि सन्देश र अनुरोध आउन थालेको उनको भनाइ छ । उनले विवाद समाधानका लागि शान्त र मर्यादित तरिकाबाट प्रश्न उठाउनुपर्नेमा जोड दिए । ‘समस्या आएको हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने । सामाजिक सञ्जालमा आफूमाथि घुस लिएको जस्ता निराधार आरोप लगाइएको भन्दै उनले त्यसको प्रमाण देखाउन चुनौती समेत दिएका छन् । रन्जितले आफू पनि केही हदसम्म पीडित भएको उल्लेख गर्दै इन्टर्नसिपको सुरुआती दिनमा आवास र सुविधामा समस्या भोग्नुपरेको बताए । ‘समय अनसर्टेन भएको कारण म पहिलो दिन ग्राउन्डमा म्याट्रेस राखेर सुत्नुपरेको थियो । त्यो बेला निकै मानसिक तनाव भयो, घरमा फोन गरेर रोएँ पनि,’ उनले भने । यद्यपि, अन्य विद्यार्थीहरू भने बेडमै सुतिरहेको अवस्थामा रहेको र यसलाई एकपक्षीय रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ । तर, यस्ता समस्याहरु व्यवस्थापनको सामान्य कमजोरीका कारण भएको र पछि सुधार भएको उनको भनाइ छ । उनका अनुसार विदेशी मुलुकमा काम गर्न जाने विद्यार्थीले आफ्नो अनुशासन, प्रस्तुति र व्यावसायिक मापदण्डमा पनि ध्यान दिन आवश्यक हुन्छ । विदेशमा नेपालजस्तो सजिलै काम नपाइने भएकाले स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने उनको भनाई छ । रन्जितले इन्टर्नसिप विवादलाई एकपक्षीय रूपमा मात्र हेर्नु उपयुक्त नहुने र कलेज, विद्यार्थी तथा परिस्थितिजन्य कारणहरू सबैलाई समेटेर निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन् । समस्या देखिँदा विरोध गर्नु गलत होइन तर विरोध गर्ने शैली शालिन र संयमित हुनुपर्ने उनको तर्क छ । ‘प्रोटेस्ट गर्नु राम्रो हो, तर डिसेन्ट वेमा गएको भए राम्रो हुन्थ्यो,’ उनले भने। दुबइमै पनि केही विद्यार्थीहरूले असन्तुलित व्यवहार गर्दा समस्या झन् जटिल बनेको उनले दाबी गरे । ‘म आफैं प्रत्यक्षदर्शी हुँ, उता पनि हंगामा भयो,’ रन्जितले बताए । इन्टर्नसिपका क्रममा काम नपाएको विषयमा उनले स्पष्ट पार्दै इन्टर्नसिप मुख्यतः अध्ययनसँगै प्राक्टिकल अनुभवका लागि भएको बताए । ‘हामी पढ्न गएका हौँ, इन्टर्न प्राक्टिकल नलेजका लागि हो,’ उनले भने । कक्षाको संख्या कम भएको भन्ने आरोपबारे पनि उनले कलेजले हस्पिटालिटी विद्यार्थीका लागि प्राक्टिकललाई प्राथमिकतामा राखेर एक दिन कक्षा र बाँकी समय इन्टर्नका लागि व्यवस्था गरिएको स्पष्ट पारे । आर्थिक विषयमा फैलाइएका आरोपप्रति पनि रन्जितले आपत्ति जनाएका छन् । उनले ६० लाख रुपैयाँ खर्च भएको दाबीलाई गलत ठहर गर्दै कलेजको आधिकारिक ब्रोसरमै शुल्क स्पष्ट उल्लेख भएको बताए । ‘लेभल फोर र फाइभको शुल्क ७ लाख ५० हजार रुपैयाँ हो, १५ लाख वा ६० लाख भन्ने कुरा पूर्ण रूपमा गलत हो,’ उनले भने । आफूले हालसम्म करिब ११ लाख रुपैयाँ मात्रै लगानी गरेको र बाँकी तह पूरा गर्दा पनि कुल खर्च २७–२८ लाख रुपैयाँभन्दा बढी नहुने उनको दाबी छ । एजेन्टमार्फत गरिएको लेनदेनमा समस्या आएर केही विद्यार्थीको पैसा ठगी भएको विषयमा उनले कलेजभन्दा एजेन्टको गल्ती प्रमुख रहेको बताए। ‘रिसिप्ट बिना पैसा दिनु आफैं जोखिम हो,’ उनले भने । यद्यपि, कलेजले आवास शुल्कसमेत बाँकी दिनअनुसार फिर्ता गरेको उदाहरण पनि उनले प्रस्तुत गरे । रन्जितले आफू कलेजको पक्षमा वा आन्दोलनरत विद्यार्थीको विपक्षमा नभएको स्पष्ट पारे । ‘म न कलेजको साइड लिन्छु, न स्टुडेन्टको, जे सत्य हो, त्यही बोल्छु ।’ उनका अनुसार समस्या समाधानका लागि संवाद, धैर्य र मर्यादित तरिका नै सही बाटो हो । सत्य बोल्दा तितो लाग्न सक्ने भन्दै उनले हंगामा गरेर होइन, समझदारीबाट समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।