मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छ : सञ्चार मन्त्री

बिहीबार, पुस ३, २०८२

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए । उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘अब मुलुकलाई आर्थिक निर्माणको हिसावले अगाडि बढाउनुपर्छ । मुलुकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यस्ता डिस्कोर्स गर्दा उपयोगी हुन्छ भन्ने ठान्दछु । जेनजी जनआन्दोलनपछि करिब ७६ जनाले जीवन गुमाउनुपर्यो । करिब २५ सय मानिसहरु घाइते हुनुपर्यो । ८४ अर्ब भन्दा बढीको क्षति भएको अवस्था छ । त्यसैले हामी पुनःनिर्माणमा जुट्नुपर्ने छ ।’ यसैगरी मन्त्री खरेलले आगामी निर्वाचनलाई सफल बनाउन सरकार निरन्तर रूपमा क्रियाशील रहेको पनि बताए । उनले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचन अब उत्सवको मात्र नभई महोत्सवकै रूपमा अगाडि बढिरहेको बताए । उनले भने, ‘चुनावलाई सफल बनाउने वातावरणका लागि सरकार काम गरिरहेको छ । मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनउत्साव होइन, अब महोत्सव बन्दैछ । हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’ त्यसैगरी, उनले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा काम गर्न सरकारले सहयोग गरिरहेको स्पष्ट पारे । सरकार सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार