विदेशी मुद्रा सञ्चिति ३० खर्ब 

सोमबार, मंसिर २९, २०८२

काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो चार महिना (कात्तिक) सम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरी केन्द्रीय बैंकले जानकारी दिएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ । वस्तु आयात भने २०.८ महिनाको धान्न पर्याप्त हुने देखिएको छ । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो । चार महिनामा डलरमा १०.३ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो । कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ५० प्रतिशत पुगेको छ । कुल आयातको १४४.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँग ३७.८ प्रतिशत छ । पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१ दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ । यही अवधिमा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर रू ९३ अर्ब ५० करोड बराबर पुगेको छ । त्यस्तै आयात १८ दशमलव ७ प्रतिशतले बढेर रू छ खर्ब नौ अर्ब ४५ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ । पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर रू ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् रू ६५ अर्ब चार करोडले बढेर रू ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारितऔसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ७४ प्रतिशत र कर्जाको भारितऔसत व्याजदर सात दशमलव ३८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार