सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिया । देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । आगामी बैशाख देखि प्रांगारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ । बाँसगढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधिन रहेको छ । नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरि जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो । २०८१ फागुन देखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिना सम्म निर्माण सम्पन्न हुने छ । आगामी बैशाख देखि उत्पादन सुरु गरि धान र मकैको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए । नगरपालिका भित्र कृषकहरूलाई सहुलियत मुल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरु छिमेकी नगरपालिकामा पनि बिक्रि गर्ने उनले बताए । कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ । थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगरप्रमुख खड्काले बताए । कारखाना सञ्चालन पछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा युवाहरूले रोजगारी पाउने छन् । घरगाउँमा खेर गईरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात संकलन गरेर कारखानामा बिक्रि गरेर पनि नगरबासी स्वरोजगार बन्ने छन् । बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि संकलन गरेर कारखानामा खपत गरिने उनले बताए । कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरबासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाईएको छ । ‘सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ,’ नगरप्रमुख खड्काले भने, ‘कार्यविधि बनाएर व्यवस्थीत रुपमा कारखाना चलाउने योजना रहेको छ।’ सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ । नेपाल सरकारले पठाउने रासायनीक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन् । पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यन्न उत्पादन घट्दो छ । पछिल्लो समयमा गाइबस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरि मल उत्पादन गर्न लागिएको बाँसगढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताए । उनले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई आग्र्यानिक खेती तर्पm आर्कषित गर्नु पनि हो । मल उत्पादन पछि विस्तारै अर्गानिक विषादीहरू पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरी मलको अभाव नहुने र नगरबासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका वडा ४ मदाहाका भगवती थारूले बताए । ‘लामो समय पछि नगरपालिकाले राम्रो काम गरेको छ’ उनले भने, ‘अब नगरपालिका आग्र्यानिक कृषी खेतीतर्फ अगाडि बढ्छकी भन्ने आशा जागेको छ ।’