जेनजी प्रदर्शनमा सवा ८० अर्बको भौतिक क्षति भएको प्रारम्भिक मूल्यांकन

बुधबार, मंसिर ३, २०८२

काठमाडौं । गत भदौ २३–२४ गतेको जेनजी प्रदर्शनका क्रममा करिब सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा गरी कुल ८० अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको अर्थ मन्त्रालयले जनाएको छ । क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदनबारे अर्थ मन्त्रालयमा छलफल गरेको छ । सरकारले करिब १ खर्बसम्म क्षति पुग्ने बताइरहेको बेला त्यो भन्दा करिब २० अर्ब रुपैयाँ कम क्षति भएको प्रारम्भिक प्रतिवेदन उपसमितिले जानकारी गराएको हो । करिब सवा ८० अर्बको कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको, २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरुको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको क्षति भएको जनाइएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलको क्रममा उपसमितिले हालसम्म सवा ८० अर्ब बराबरको क्षति भएको र क्षतिको विवरण आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने बताएको छ । ‘क्षतिको विवरण केही बढे पनि बढेको रकम अर्बमा नभइ करोड र लाखमा हुने छ । यसका आधारमा प्रदर्शनको क्षति ८० अर्ब रुपैयाँभन्दा सामान्य बढी हुने देखिन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार