सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका आसपासका क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका छन् । यस्तै, झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अल्झिएका छन्। ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र ढुवानी अवरुद्ध हुँदा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको महासंघले जनाएको छ । महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउने प्रक्रिया सहज बनाउन आग्रह गरेको छ । महासचिव बाँनियाले भने, “यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भेटघाट पनि भएको छ । व्यवसायीहरूको समस्या विस्तृत रूपमा राख्दा मन्त्रालयले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आवश्यक पहल गर्ने आश्वासन दिएको छ ।” यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी बाढीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी विस्तृत मूल्याङ्कन विवरण तयार पारेको छ । कार्यालयका अनुसार बाढीले क्षति पुर्याएका सात वटा मालवाहक कन्टेनर ट्रकहरूको अनुमानित मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी हुने देखिएको छ । यान्त्रिक कार्यालयका अनुसार सवारी साधनहरू ढोका लक अवस्थामा भएकाले पूर्ण निरीक्षण गर्न कठिनाइ भएको र प्रतिवेदन बाहिरी निरीक्षणका आधारमा तयार पारिएको हो । त्यसैले वास्तविक मर्मत खर्च फरक पर्न सक्ने उल्लेख गरिएको छ । महासंघका महासचिव बाँनियाले बाढीपछिको लामो ठप्प अवस्थाका कारण सदस्य व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका बताउँदै, चीनतर्फ रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउन र क्षतिग्रस्त सवारी साधनहरूको मर्मत प्रक्रिया सहज बनाउन सरकारको सक्रिय पहल अपरिहार्य रहेको बताएका छन् ।