बक्यौता नपाउँदै उखु किसानको मृत्यु  

मंगलबार, पुस १४, २०७७

काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मंगलबार बिहान ११ बजे मृत्यु भएको छ ।  सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार रुपैयाँ मंगलबार मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको पाँच करोड रुपैयाँ दिइएको छैन । उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सोमबार सम्झौता भएको थियो । सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता  देखिएका  किसानका ६५ करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको थियो ।  किसानले भने आफूहरूको कूल बक्यौता ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी छानबिन समिति गठन गरेको छ । उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको १४ लाख रुपैयाँ ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताए । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता  भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडाँैको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघातका कारण मृत्यु भएको थियो । सरकारले  उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरूलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।  

३३ करोड बक्यौता भुक्तानी

उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले रु ३३ करोड बक्यौता  भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् । सोमबारसम्म श्रीराम सुगर मिलले २६ करोड ११ लाख रुपैयाँ, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख रुपैयाँ र लुम्बिनी सुगर मिलले दुई करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् ।  मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको ३५ करोड, लुम्बिनी सुगर मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलकोसत्र करोड रुपैयाँ बक्यौता  छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार