सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरेको छ । खानेपानी मन्त्री स्तरीय निर्णयले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेका थिए । उनले आइतबार नै मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन कार्यकारी निर्देशक ई. रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ । विभागको परिवर्तित स्थायी संरचना अनुसार तीनजना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनैजना उपमहानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीनैवटा महाशाखा प्रमुखहरूको पदपूर्ति भएको छ । विभागले गत आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गरेकोमा, अबको चालु आर्थिक वर्षमा शत प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लिएको छ ।’ यसैगरी महानिर्देशक ई श्रेष्ठले आर्थिक वर्षको सुरुमा नै महाशाखा प्रमुखहरुको दरबन्दीले पूर्णता पाएपछि विभागले अझ रफ्तारमा थप प्रगतिका कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे । उपमहानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखामा उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठ र सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई तोकिएको विभागले जनाएको छ ।