चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ 

सोमबार, भदौ २, २०८२
Global Ime Bank

गुलरिया (बर्दिया) । शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं. १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन् । स्थानीयवासीले चितुवालाई नियन्त्रणमा लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । चितुवा नियन्त्रणमा नलिँदासम्म शव नबुझ्ने मृतकका आफन्तीले अडान लिएका छन् । फेरि पनि अर्को घटना हुन सक्ने भएकोले चितुवा नियन्त्रण लिनुपर्ने गुलरिया नगरपालिका वडा नं. १२ की वडा सदस्य भावना चौधरीले बताइन् ।  पीडित परिवार र स्थानीयको विरोधपछि पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ । डिभिजन वन, सुरक्षा निकाय, सामुदायिक वन र स्थानीय तहले समन्वयत्मक रुपमा सुरक्षा व्यवस्था मिलाउने, चितुवा नियन्त्रणका लागि आवश्यकता अनुसार खोर राख्ने, पीडित परिवारलाई व्यवस्था भए अनुसार राहत उपलब्ध गराउने लगायतको सहमति भएको वडाध्यक्ष रामकुमार थारूले बताए । समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिइ जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिनेलगायतका माग उनीहरूले राखेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमति भएपनि पीडित परिवारले भने शव जिम्मा लिएका छैनन । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार काम सुरु गरेमा शव बुझ्ने पीडित पक्षले बताएका छन् । शव पोष्टमार्टम गरी बर्दिया अस्पतालमा राखिएको छ ।  नजिकैको सामुदायिक वनमा बसेर गाउँमा चितुवाले आतंक मच्चाएको भन्दै पटक पटक डिभिजन वन कार्यालय बर्दियामा खबर गर्दा समेत वेवास्ता गरेको कारण मानिसमाथि चितवाले आक्रण गरेको स्थानीयले आरोप लगाएका छन् । अहिले पनि नजिकैको सामुदायिक वनमा चितुवा घुमिरहेको उनले बताए । यसअघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं. ५ मा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार