सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढीले कवाडी खोला लघु जलविद्युत आयोजनामा पूर्णरुपमा क्षति भएको छ । बाढीका कारण लघुजलविद्युत आयोजनामा क्षति पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेती योग्य जमिन, पुल बगाएको छ । बाढीले विद्युत्त गृह, नहर र विद्युतिय उपकरणमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ । बाढीका कारण आयोजनामा पूर्णरुपमा क्षति पुग्दा गाउँपालिकाको वडा नं ४, ५ र ६ वडाका स्थानीय विद्युत्त सेवाबाट बञ्चित भएको गाउँपालिका अध्यक्ष गोविन्द् मल्लले बताएका छन् । उनले भने, ‘बाढीका कारण कवाडी लघुजलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । जसका कारण गाउँपालिकाका करिब १२ घरधुरी विद्युत सेवाबाट प्रभावित बनेका छन् ।’ बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घरमा पूर्णरुपमा क्षति पुग्नुका साथै खेतीयोग्य जमिन समेत बगाएको अध्यक्ष मल्लले बताए । बाढीले स्थानीयका घर, सरकारी तथा निजी भवन, विद्यालय वडा नं १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल उच्च जोखिम तथा संरचनामा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले जानकारी दिए । यता बाढीबाट प्रभावित पीडितहरूले तत्काल राहत तथा उद्दारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रभावित क्षेत्रमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । अवलोकन पश्चात् पीडितको राहात, उद्धारमा जुटिएको हिमाली गाउँपालिकाले जनाएको छ । यस्तै बाढीले स्थानीय आइ सिंह बोहराको पसल, बाख्रा खोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्रा खोरसहित १० बाख्रा बगाएर बेपत्ता बनाएको छ । प्रशासन कार्यालय बाजुराले बाढीबाट प्रभावितलाई सुरक्षित रहन आग्रह गरेको छ । बाढीबाट प्रभावित भएकाहरुलाई राहत र पुनःस्थापनाका कार्य क्षतिको पूर्ण विवरण आएपछि काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । उनले भने, ‘प्रहरीले बाढीबाट भएको क्षतिको विवरण संकलन गरी रहेको छ । शुक्रबारसम्म क्षतिको तथ्यांक आउँछ तत्पश्चात प्रक्रिया अघि बढाउने छौं ।’