सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृहमन्त्री रमेश लेखकले साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका छन् । सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाइएको बताए । समितिले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे । साउन २२ गते राति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। तीमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइएको छ । दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । चार जनालाई उपचारपछि पुनः कारागार पठाइएको छ भने बाँकी ४१ जना अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । मृतक बन्दीको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ । कैलाली कारागारमा हाल पुरुष ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी ६४३ जना पुरुष र एक ब्लकमा ४७ जना महिला बन्दी छन् । घटनाको रात दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी कैदीबन्दीहरूले ब्लक ‘बी’ मा पुगेर त्यहाँका बन्दीलाई कुटपिट गरेको विवरणमा उल्लेख छ । घटनापछि द्वन्द्वमा संलग्न समूहका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको, कारागारभित्र अवैध सामान छरछैन पत्ता लगाउन दुई पटक विशेष खानतलासी गरिएको र प्रमुख जिल्ला अधिकारीद्वारा कारागार निरीक्षण गरी शान्ति–सुरक्षा कायम गर्न बन्दीलाई सम्झाइएको गृहमन्त्रीले जानकारी दिए । उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र सुरक्षाकर्मीको पर्याप्त उपस्थिति सुनिश्चित गरिएको छ । बन्दीका परिवारसँग भेट गराई उनीहरूको अवस्थाबारे जानकारी गराइएको छ। समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही हुने पनि गृहमन्त्रीले बताए ।