बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँलाई विश्वासको मत

मंगलबार, साउन २७, २०८२
Global Ime Bank

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनु पर्ने व्यवस्था छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए । कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । उनको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण बैठकमा सहभागी भएनन् । प्रदेशसभाको बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका थिए । पार्टीभित्रको विवादका कारण आफ्नै दल कांग्रेसका १४ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए पनि केन्द्रीय नेतृत्वको दबाबपश्चात उनीहरु बैठक सञ्चालन हुने समयमा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरेका थिए । उनीहरुले बानियाँको पक्षमा मतदान गरेका थिए । उनीहरुकै कारण दिउँसो ४ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो गरी प्रदेशसभाको सञ्चालन भएको थियो । बागमतीमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले ६ मन्त्री नै सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ । कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन । दुवै बानियाँ निकट हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार