उत्तराखण्डमा भीषण वर्षा र बाढी,  ४ जनाको मृत्यु, ५० जनाभन्दा बढी बेपत्ता

मंगलबार, साउन २०, २०८२

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा सोमबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो । धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ । हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ । प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ । स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ । प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । पूरै क्षतिको मूल्यांकन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार