सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक : महानिर्देशक तिवारी

आइतबार, साउन १८, २०८२

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘अध्यागमन सुधार तथा प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा’ बोल्दै तिवारीले भिजिट भिसामा देखिएको अनियमिततालाई मानव तस्करीसँग जोडेर बुझ्नु गलत हुने तर्क राखे । ‘संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउने हो,’ उनले भने, ‘हामीले यसलाई (भिजिट भिसा प्रकरणलाई) मानव बेचबिखन भनिरहेका छौँ, तर यो कुशासन हो, मानव तस्करी होइन । कानुनले पनि यसलाई फरक रूपमा परिभाषित गरेको छ ।’ महानिर्देशक तिवारीले भिजिट भिसामा विदेश गएका सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिए । ‘कोही भिजिट भिसामा गएर एनआरएनको ठुलो पदमा पुग्छ र हामी जाँदा उपहार दिन सक्छ भने त्यो राज्यको सम्पत्ति हो,’ उनले भने, ‘तर कोही काम नपाएर दुःखमा पर्‍यो भने हामी उसलाई फरक नजरले हेर्छौँ । यस्तो दृष्टिकोण बदलिनुपर्छ ।’ उनले अध्यागमन प्रणालीलाई पारदर्शी, सुशासनयुक्त र नागरिकमैत्री बनाउन विभाग प्रयासरत रहेको जानकारी पनि दिए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार