सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले सिड रिपोर्टमा के पठाउँदै छ ?’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले नेपालको संविधान र सरकारी प्रयासले महिला–पुरुषबीच समानता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन् । मन्त्री साहले भने, ‘हाम्रो देशले राम्रो प्रगति गरेको छ । हाम्रो संविधानले महिला र पुरुषलाई कसरी समानताको अधिकार दिन्छ, कसरी समान अवसर प्रदान गर्छ भन्ने सवालमा काम गरेकै छ ।’ उनले मन्त्रालयले दुईवटा समितिहरू गठन गरेको जानकारी दिँदै सिडको सेन्ट्रल कमिटीमा २३ सदस्य रहेको र तीमध्ये एकजना नेपाली प्रतिनिधि रहेकोमा गौरव व्यक्त गरे । मन्त्री साहले मधेस प्रदेशमा महिलाको हकमा ५० प्रतिशत आरक्षण लोकसेवा आयोगमार्फत लागू गराएको दाबी पनि गरे । ‘हाम्रो मन्त्रालयले दुईवटा कमिटी बनाएको छ । जसमा सिड्को सेन्ट्रोल कमिटी छ, त्यसमा २३ जना सदस्य हुनुहुन्छ । त्यसमा पनि नेपालले गौरव गर्नुपर्ने स्थान ओगेटेको छ । जसमा एकजना नेपालको पनि सदस्य हुनुहुन्छ । महिलाको सम्बन्धमा धेरै काम गरेको छु र गर्दै आएको छु । सातवटै प्रदेशमध्ये मधेश प्रदेशमा मैले ५० प्रतिशत आरक्षण गराएको छु, जुन ऐतिहासिक कदम हो,’ उनले भने । कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले कानुन निर्माण भएपनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताए । उनले भने, ‘महिलाहरुलाई सशक्तिकरण कसरी गर्ने भन्ने सवालमा अझै धेरै काम गर्न बाँकी छ । समाजमा व्याप्त छाउपडी प्रथा लगायतका विकृतिहरु हटाउन प्रभावकारी नीति र क्रियाशील कार्य आवश्यक छ ।’ कार्यक्रममा सहभागी सांसदहरूले पनि महिला अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सिड रिपोर्टमार्फत अन्तर्राष्ट्रिय समुदायसामु नेपालको प्रतिबद्धता मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।