रौतहटमा ‘जन्मोत्सव’ पार्कमा गरियो बृक्षारोपण

बुधबार, साउन १४, २०८२
Global Ime Bank

रौतहट । ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने अभियान अन्तर्गत चन्द्रपुर नगरपालिका–९ स्थित सिन्दुरेघारीको चाँदिखोला किनारमा बृक्षारोपण गरिएको छ । जन्मदिनलाई  सामाजिक सत्कर्म र उत्तरदायित्वसँग जोड्दै लैजाने उदेश्यले बृक्षारोपण अभियान गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्व सचिव गोबिन्द प्रसाद चौलागाईले बुधबार परेको आफ्नै जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम गरेका हुन् ।  नेपालको  पहिलो ‘जन्मोत्सव’ पार्क निर्माणधीन अवस्थामा रहेकाले उक्त अभियानको सुरुवात गरिएको उनले बताए ।  तराई विकास तथा संचार केन्द्र नेपाल, काठमाडौंको आयोजनामा भएको कार्यक्रमले जन्मोत्सव नामक पार्कको निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएका गौरस्थित पूर्वाधार विकास कार्यालय रौतहटका कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा अधिकृत सुदिप गौतमलाई सम्मानित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाका प्रमुख उमाकान्त आचार्य, प्रमुख जिल्ला अधिकारी विनोद खड्का, तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा बृक्षारोपण गरिएको आयोजक संस्थाले जनाएको छ ।  जन्मदिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने तथा सामाजिक सेवा र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले जन्मोत्सव पार्कको अभियान थालिएको आयोजक संस्थाका अध्यक्ष समेत रहेका चौलागाईंले बताए । यस अभियानले जलवायू परिवर्तनले पानीका मुहान सुक्ने र जमिन उजाडिने समस्यालाई केही सहयोग गर्ने उनको विश्वास छ ।  ‘जन्मोत्सव’ पार्क तथा त्यसआसपासको क्षेत्रमा विभिन्न जातका  विरुवा रोपिएको तराई विकास तथा संचार केन्द्र नेपालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार