नुवाकोटका ३३ जना विपन्न बालिकालाई रक्षा नेपालको छात्रवृत्ति 

बुधबार, साउन १४, २०८२
Global Ime Bank

नुवाकोट । सामाजिक रुपान्तरणमा क्रियाशील संस्था रक्षा नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकाका वडा नम्बर २,३ र ४ का रक्षा उज्वल किशोरी समुहका ३३ जना बिपन्न, दलित र जनजाति बालिकाहरूलाई छात्रवृत्ति वितरण गरेको छ । शिक्षाबाट वञ्चित समुदायका बालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको ‘रक्षा उज्वल किशोरी समुह’ को कार्यक्रम बेलकोटगढी ३ को वडा कार्यालयमा सम्पन्न भएको हो। छात्रवृत्तिको माध्यमबाट उनिहरूको शिक्षा यात्रालाई निरन्तता दिने उद्देश्य संस्थाको रहेको छ । कार्यक्रममा रक्षा नेपालकी कार्यक्रम संयोजक दुर्गा पाण्डे, आवास गृह व्यवस्थापक गोमा थापा, बेलकोटगढी ३ की वडा अध्यक्ष कौशिला पुडासैनी, वडा सचिव हिरा कलौनी, र लक्ष्मिश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बिसुङकैको उपस्थिति थियो । ‘किशोरी समूह एउटा यस्ता उदीयमान युवतीहरूको सशक्तिकरण मंच हो, जहाँ उनीहरूले आफ्ना अधिकार बुझ्ने, सीप सिक्ने, आत्मविश्वासी बन्ने र समाज परिवर्तनको वाहक बन्ने अवसर पाएका छन् । हिँजो बोल्न नसक्ने किशोरीहरू अहिले खुलेर बोल्न थालेका छन् र आफ्नो हक अधिकारका लागि आवाज उठाउन थालेका छन्’ कार्यक्रममा बोल्दै वडा अध्यक्ष कौशिला पुडासैनीले भनिन् ।  उनले रक्षा उज्वल किशोरी समूहले समाजमा व्याप्त बिकृति, बालविवाह, यौनजन्य हिंसा र लैंगिक असमानताविरुद्ध सडक नाटक, चेतनामूलक कार्यक्रम र संवादमार्फत जनचेतना फैलाउने कार्य गरिरहेको भन्दै त्यसको सामाजिक प्रभावका बारेमा पनि बताएकी थिइन् ।  त्यस्तै, वडा नम्बर २ की सामाजिक मेलमिलापकर्ता तथा रक्षा उज्वल किशोरी समुह अन्तर्गत नुवाकोट जिल्ला सामाजिक परिचालिका कल्पना श्रेष्ठले यस्ता अभियानहरूले किशोरीहरूको आवाज बुलन्द हुन थालेको भन्दै यस्ता सामाजिक परिवर्तनका कार्यक्रमहरू प्रभावकारी भएको बताइन् ।  ‘हिजोका दिनमा बोल्न नसक्ने किशोरीहरू आज आफ्ना भावना र विचार स्पष्ट रूपमा व्यक्त गर्न सक्ने भएका छन्। यौनजन्य दुव्र्यवहारविरुद्ध आवाज उठाउने हिम्मत उनमा देखिन थालेको छ, जुन समाजको लागि सकारात्मक परिवर्तन हो’ उनले भनिन् । लक्ष्मिश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बिसुङकैले पनि किशोरीहरूको सक्रियता देखेर आफू हर्षित भएको प्रतिक्रिया दिए। ‘किशोरीहरू यसरी एकताबद्ध भएर समाजको हितका लागि अघि बढेको देख्दा गर्व लाग्छ । उनीहरूको यो परिवर्तनशील यात्रा प्रेरणादायी छ’ उनले भने ।  रक्षा नेपालले विगत १० वर्षदेखि नुवाकोट जिल्लामा रक्षा उज्वल किशोरी समुह गठन गरी बिपन्न बालिका तथा महिलालाई शिक्षा, स्वास्थ्य, सीप विकास र कानुनी सहायता प्रदान गर्दै आएको छ । बितेको दस बर्षमा रक्षा नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकामा ‘रक्षा उज्वल किशोरी समूह’ मा रहेर हालसम्म ३१० जनाले विभिन्न आत्मनिर्भरताको तालीम लिएर, छात्रवृत्ति प्राप्त गरेर लाभान्वित भएका छन् । स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूले समुदायमै आधारित सामाजिक रूपान्तरणको आधार तयार गरिरहेको संस्थाको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार