सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो । बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवम् समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ । यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवद्र्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ । साथै चुरे संरक्षण तथा प्रवद्र्धनमा जोड दिने, सात दिनभित्र सुक्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेश गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिए ।