सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता 

सोमबार, साउन १२, २०८२
Global Ime Bank

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १६ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । बुधबार वा बिहीबार परिवारका सदस्यले सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।  छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेको श्रेष्ठले जानकारी दिए ।  हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् । उनीहरू शुक्रबारबाट बेपत्ता भएको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको अनुमान छ ।   घटनाबारे थाहा पाएपछि सोमबार बिहान प्रहरी टोली हायुको घरमा पुगेको थियो । प्रहरी पुगेपछि प्रहरी र स्थानीयले अहिले उनीहरूको खोजी गरिरहेका छन् । हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।  वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमान्को गतवर्ष निधन भएको थियो । ‘श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, तीमध्ये एउटी छोरी काठमाडौँतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने ।   भत्ता ल्याएर घरको सुँगुर काटेर खाएको हायु परिवार कसैले थाहा नपाउने गरी घर छाडेर हिँडेको पनि हुनसक्ने आशङ्का गरिएको छ । ‘बैङ्कबाट ऋण लिनु भएको रहेछ, बैङ्कमा मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैङ्कबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन’, श्रेष्ठले भने ।

खोजीका लागि रामेछापमा प्रहरी परिचालन
हराएका हायु समुदायका एकै परिवारका १६ जनाको खोजीमा रामेछापमा प्रहरी परिचालन गरिएको छ । उनीहरुको मोबाइल फोनको अन्तिम लोकेसन गोलन्जोरकै पारिपट्टी रामेछापमा फेला परेको छ । मोबाइल बन्द हुनुअघि रामेछापमा लोकेसन देखिएपछि प्रहरीले रामेछापको हायु बस्तीमा खोजी तीव्र पारेको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । रामेछापतर्फ आएको हुन सक्ने आशंकामा हायु समुदाय रहेका बस्तीमा खोजी भइरहेको उनले बताए । उनीहरु रामेछापतर्फ आएको हुन सक्ने प्रारम्भिक संकेतका आधारमा रामेछाप नगरपालिकाको वडा नं ७ र ८ रहेका हायु बस्तीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भई खोजी भइरहेको छ । गत बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायका सदस्यलाई दिने सामाजिक भत्ता वितरण गरेको थियो । हायु परिवारले भत्ता बुझेर आएपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको गोलन्जोर क्षेत्रमा कुनै प्राकृतिक विपद् नभएको र सम्पर्कविहीन परिवार समूहमै हिँडेको अनुमान गरिएको छ । उनीहरूको मोबाइल टावर सिग्नल रामेछाप क्षेत्रका टावरमा देखिए पनि, ती टावरले गोलन्जोर क्षेत्रलाई पनि कभर गर्ने भएकाले उनीहरू साँच्चिकै रामेछाप आए–नआएको विषयमा यकिन भने भइनसकेको रामेछापका प्रहरी निरीक्षक न्यौपानेले बताए ।

१६ जनाले नै सामाजिक भत्ता बुझेका थिए
छेत्पानजिक भण्डास विप्पर कटेरी घर भएका उर्मिला हायूको परिवारले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको छ । वडा नम्बर ६ का अध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधबार आर्थिक वर्ष ०८१–८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका हुन् ।  वडाध्यक्ष श्रेष्ठका अनुसार हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । श्रेष्ठले भने, ‘परिवारका १८ सदस्यमध्ये १ जना काठमाडौं र १ जना विदेशमा रहेकाले १६ जनाले भत्ता बुझेको भन्ने बुझिएको छ ।’ उनीहरूले गोलन्जर गाउँपालिका–७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार केहीले उनीहरूलाई खुर्कोटमा देखेको दाबी गरे पनि यकिन भने भएको छैन । पछिल्लो समय मोबाइलको लोकेसन रामेछापको मन्थली देखिए पनि सबैको मोबाइल स्विच अफ रहेको उनले बताए ।

भान्साघर जलेको अवस्थामा, ३–४ किलो मासु बाँकी 
४ दिनदेखि सम्पर्कविहीन उनीहरूको घरमा भान्साघर जलेको र ३–४ किलो मासु बाँकी रहेको अवस्थामा भेटिएको छ । प्रहरीले खोजतलास जारी राखेको छ, तर हालसम्म परिवारका सदस्यहरूको कुनै पत्ता लागेको छैन । हायू परिवार रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीहरूको भनाइ छ । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् । घरपारि रहेको गोठमा पाडीलाई घासँ र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए । त्यसपछि छिमेकीहरूले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका हुन् ।
एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही पनि भेटिएनन् । वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उनीहरूको घरमा अझै पनि सुँगुरको ३र४ किलो मासु बाँकी रहेको छ । ुसोमबार हामी उनीहरूको घरमा पुग्दा मासु बाँकी नै देखियो । गन्हाएको अवस्थामा मासु भेटिएकाले पनि उनीहरू ३–४ दिनअघि नै घरमा नरहेको हो कि भन्ने छ ।ु

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार