नेपालीहरूको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ

सोमबार, साउन १२, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरूको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् । अमेरिकाको न्युयोर्क स्थित हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको ऊर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानित गरेको हो । अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म  लोडशेडिङग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिङग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुर्‍यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ ।  प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं ।  व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,’’ उनले भने । एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले बताए । “सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरूको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ । तपाईं सबैको साथको लागि अनुरोध गर्छु,’’ घिसिङले भने, “आगामी दिनमा तपाईंहरूले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ ।’’ उक्त कार्यक्रममा घिसिङसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद  ज्ञानेन्द्र शाहीलाई  पनि ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै सांसद शाहीले स्वर्ग जस्तो देश,  विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरिबतम मुलुकको रुपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए । “तपाईंहरूको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ ।  एक पटक नेपाल पÞmर्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं,’’ उनले भने । उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए । सांसद शाहीले  वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे । “मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन । तर  पोखरीमा  फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न त्यहाँ भित्र छिर्नै पर्छ,’’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित गायिका आनी छोइङ ड्रोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरूलाई सम्मान गरेर हौसला बढाएको बताइन् । उनले नेपालको उन्नतिमा हातेमालो गर्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा खेलकुद, संगीत, व्यवसायलगायत विभिन्न क्षेत्रमा योगदान पुरार्‍याउने गैर आवासीय तथा नेपाली अगुवाहरूलाई सम्मान गरिएको थियो । 
राजनीति, धर्म, जाति वा वर्ग भन्दामाथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ’हाम्रो नेपाली  ग्लोबल’ स्थापना गरिएको उक्त संस्थाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार