स्नेहाज केयरको आयोजनामा भएको काठमाडौं भेज फेस्ट सम्पन्न 

ललितपुरमा अर्को वर्ष हुने 
आइतबार, साउन ११, २०८२
Global Ime Bank

ललितपुर । पशु कल्याणका क्षेत्रमा विगत एक दशकदेखि सक्रिय स्नेहाज केयरले आयोजना गरेको ‘काठमाडौं भेज फेस्ट’ सम्पन्न भएको छ । उक्त फेस्टको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । भेज फेस्ट काठमाडौंको बौद्धस्थित उत्पला रेष्टुँरामा आयोजना गरिएको थियो । स्नेहाज केयरले आयोजना गरेको यो पाँचौ भेज फेस्ट हो । फेस्टको उद्घाटन सत्रमा बोल्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले छैंठौँ ‘भेज फेस्ट‘ ललितपुरमा गर्ने बताए । वनस्पतिमा आधारित जीवनशैलीलाई प्रबद्र्धन गर्न स्नेहाज केयरले फेस्ट आयोजना गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले समुदायमा रहेका कुकुरलगायतका जनावरलाई आश्रय दिएर र हेरचाह गरेर स्नेहाज केयरले  असाधारण काम गरेको बताए ।  उनले भने, ‘उहाँको असाधारण काम देखेर ललितपुर महानगरले स्नेहाज केयरलाई धेरै क्षेत्रमा सहयोग गरेका छौंँ ।’  पशु सेवा विभागका महानिर्देशक डा। रामनन्द तिवारीले पृथ्वीमा वनस्पति र प्राणीको भूमिका र अस्तित्व महत्वपूर्ण भएको बताए । पशु अधिकार र कल्याणको लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य हुनुपर्ने बताए ।  स्नेहाज केयरका प्रमुख स्नेहा श्रेष्ठले वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार र वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्न फेस्ट आयोजना गरेको बताइन् । उनले भनिन् ,‘स्वादका लागि हामीले अवोध प्राणीको हत्या गर्छौँ, किन त्यो गर्ने ?’ जिब्रोको स्वादका लागि प्राणी हत्या गर्न नहुने बताइन् । पौष्टिक तत्व मासुबाट मात्र प्राप्त हुने भाष्य गलत भएको प्रष्ट पारिन् ।  उनले भिगन जीवनशैली प्राणीको जीवनलाई बचाउने भएकाले भिगन जीवनशैली अपनाउन अनुरोध गरिन् । पशु अधिकार र पशु कल्याणको लागि   पशु कल्याण ऐन तत्काल ल्याउनुपर्ने उनले बताइन् ।  उत्पला रेष्टुँरा सञ्चालक दिपक बोहाराले भिगन जीवनशैलीले प्राणीको बाँच्न पाउने अधिकारको संरक्षण गरेको बताए । उनले पौष्टिक तत्वको लागि प्राणीको हत्या गरेर मासु खान नपर्ने बताए ।  पशु अधिकार र संरक्षणको बारे बुझाउन स्नेहाज केयरले संचालन गरेको अभियानमा जोडिएका विद्यालय मध्ये ५ वटा विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । यसैगरी पशु कल्याण र अधिकारको बारेमा उत्कृष्ट कविता लेख्ने विद्यार्थीलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी वेस्ट यानिमल लभर श्याम महर्जनलाई सम्मान गरिएको थियो ।  महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण गरिएको थियो । साथै उक्त कार्यक्रमलाई सफल बनाउनका भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरू स्टल राखिएका थिए ।  आयोजकका अनुसार महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शन लगायतका सामग्रीको गरी ९० भन्दा धेरै स्टलहरू राखिएको थियो । स्नेहा केयरले सन् २०१७ देखि विरुवामा आधारित आहारको उपभोगलाई बढावा दिने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । पशुमाथिको  क्रुरता अन्त्य गर्न, स्वस्थकर खानपान शैली विकास गर्न यो फेस्ट महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।   स्नेहाज केयरले विद्यालयहरूमा विरुवामा आधारित आहार र पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकार सम्बन्धी तालिम संचालन गर्ने, समुदाय स्तरमा महिलाहरुलाई विरुवामा आधारित आहार सम्बन्धी गोष्ठी/तालिम संचालन गर्ने, स्थानीय रैथाने भेज खानाको परिकारका बारेमा फुड भ्लग्स र सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गर्ने र वार्षिक भेज फेस्ट आयोजना गर्दै आएको छ ।  वि.सं. २०७२ मा ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ  । यस संस्थाले पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । साथै सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज रोग उन्मुलनका लागि बृहत रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै बेवारिसे गाई बाच्छाहरुको उद्वार, उपचार, तथा पूनस्र्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशुप्रति भईरहेको क्रुरता कम गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । साथै हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति पनि कार्यक्रमहरू गर्दै आएको छ ।

WhatsApp-Image-2025-07-27-at-10.55.33-1753622014.jpeg
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार