सोसल मिडिया
Contact Us
युनिकोड
अभिभावकविहीन, बेसहारा बालिकाहरूको जीवनमा आशाको ज्योति बन्ने हाम्रो प्रयासमा सहयोगी हातहरू अझै आवश्यक छ । काम गर्नका लागि फण्ड अपुग छ । संस्थाको उद्देश्यअनुसार काम गर्न लागि धेरै सहयोगी हातहरुको खाँचो छ । अरुण सिंह बस्नेत संस्थापक अध्यक्ष हेल्प नेपाल नेटवर्क
काठमाडौं । २५ वर्षअघि विश्वभरका नेपालीहरूबीच सहयोगको भावनालाई एकीकृत गर्ने उद्देश्यसाथ स्थापना गरिएको हेल्प नेपाल नेटवर्क अहिले समाजसेवाका क्षेत्रमा उदाहरणीय बन्दै गएको छ । संस्थाका संस्थापक अध्यक्ष अरुण सिंह बस्नेतका अनुसार, विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन गरी नेपालमा स्वास्थ्य, शिक्षा तथा प्राकृतिक प्रकोपजस्ता क्षेत्रमा काम गर्ने मुख्य उद्देश्यका साथ यो संस्था स्थापना भएको हो । हेल्प नेपाल नेटवर्क बेलायत र नेपालमा एकैसाथ सुरु गरिएको थियो । हाल अमेरिकादेखि अस्ट्रेलियासम्म यसको सञ्जाल फैलिएको छ । संस्थाले लामो समयदेखि स्वास्थ्य केन्द्र, पुस्तकालय तथा शैक्षिक सहयोगका कार्यक्रम गर्दै आएको छ । देशमा संकट पर्नासाथ संस्थाले सक्रियता जनाउने गरेको छ । नेपालमा विशेषगरी दीर्घकालीन सामाजिक सेवामा समर्पित हेल्प नेपाल चिल्ड्रेन्स होम (बालगृह) अहिले काभ्रेको धुलिखेलमा सञ्चालित छ । द्वन्द्व पीडित बालबालिकाको सहायताका लागि सुरु गरिएको यो बालगृहमा हाल अनाथ तथा अभिभावकविहीन २४ जना बालिकाहरूको संरक्षण, शिक्षा र अभिवृद्धिको काम भइरहेको छ । अध्यक्ष बस्नेतका अनुसार, ालगृह २०७१ सालको भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । ‘धुलिखेलमा खासगरेर ०६२/६३ सालमा द्वन्द्वपीडित बालबालिकाको लागि भनेर भवन निर्माण सुरु गरेका थियौं । तर विभिन्न कारणबस भवन निर्माण सुरु हुन ढिला भयो । द्वन्द्व पनि समाप्त भएको हुँदा त्यसपछि बालिकाहरु मात्रै राखेर हेल्प नेपाल चिल्ड्रेन्स् होम सुरु गर्यौं । त्यो विधिवत रुपमा ०७१ भदौदेखि सुरु भयो ।
अनाथ वा बाबाआमा नभएका र बुवा भएर आमाले अर्को बिहे गरेर छोरीहरुको विचल्ली भएकाहरु संस्थामा छन् । केही बालिकाहरू आज सक्षम बनिरहेका छन् । दुई जना कक्षा १२ पास गरेर विदा भइसकेका छन् भने एकजना डेनमार्कसमेत गएकी छिन्,’ बस्नेतले भने । हालै चार बालिकाले एसईई परीक्षा ‘ए’ग्रेडमा उत्तीर्ण गरेका छन् संस्थाको वार्षिक खर्च करिब ४० लाख रुपैयाँ पुग्ने बताउँदै बस्नेतले भने, ‘फण्ड अलिकति अपुग छ, तर बालिकाहरूको शिक्षादेखि जीवनशैलीमा कुनै सम्झौता गरेका छैनौं । महिनाको करिब तीन लाख खर्च हुने गर्छ ।’ बालगृहमा रहेका बालिकाहरूको बीमा पनि गरिएको छ । कक्षा १२ सकेपछि छुट्टिँदा उनीहरूलाई बीमाको रकम (४–५ लाखसम्म) उपलब्ध गराइने गरिन्छ । धुलिखेल बाहेक हेल्प नेपालले मुगुमा २० वर्षदेखि हेल्थपोस्ट पनि सञ्चालन गर्दै आएको छ । यस्ता सामाजिक सेवामा स्थानीय निकाय र सरकारी निकायबाट सहयोग र असहयोग दुवै भोग्नुपरेको अध्यक्ष बस्नेत बताउँछन् । ‘हामीजस्ता निस्वार्थ सेवामा लागेका संस्थाहरूमाथि अनुगमन आवश्यक भए पनि राज्यले त्यस्ता संस्थालाई वर्गीकृत गरेर फरक ढंगले हेर्नु आवश्यक छ,’ बस्नेतले भने । उनले सातवटै प्रदेशमा यस्ता बालगृह स्थापना गर्ने दीर्घकालीन लक्ष्य रहेको बताएका छन् । साथै, विद्यालय सञ्चालन, स्कुल सघाउने तथा हेल्थ क्याम्प सञ्चालनजस्ता कार्यक्रम पनि निरन्तर भइरहेको जानकारी दिए । सरकारबाट ठोस सहयोगको अपेक्षा नगरेको भए पनि अनुगमनमा गरिने व्यवहारले कहिलेकाहीँ असहजता थप्ने गरेको बस्नेतको भनाइ छ । उनले भने, ‘अभिभावकविहीन, बेसहारा बालिकाहरूको जीवनमा आशाको ज्योति बन्ने हाम्रो प्रयासमा सहयोगी हातहरू अझै आवश्यक छन् । तर अनुगमन गर्ने निकायहरुले हामीजस्तो संस्था परोपकारको लागि मात्रै काम गर्छ । नियमित भएको काममा पनि अनुगमन गर्नुपर्ने, कति प्रतिशत सरकारीलाई छुट्याउनुपर्ने यस्ता कुराहरुले गर्दा हामीलाई समस्या हुने गरेको छ ।’- नेपाल न्यूज बैंकसँग अध्यक्ष अरुण सिंह बस्नेतको कुराकानीको अंश