खुशी बोकेर फर्किए समिर

प्रधानमन्त्री पत्नी राधिका शाक्यको पहलमा अस्पताललाई तिर्नु पर्ने शुल्क मिनाह 
शनिबार, असार २६, २०७८

काठमाडौं/धनुषा । उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा थिइन् । सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरिएको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुगेका थिए । समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाइन् । असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गरिन् । त्यसपछि बेगम घर फर्किन सफल भइन् । “अनलाइमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाइन् ।  प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उनलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा आज रासससँगको टेलिफोन कुराकानीमा समिरले भने, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”
पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा ति¥यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उनले कुराकानीका क्रममा थपे ।  सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई रु एक लाख १० हजार उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उहाँ शय्या छाड्न पाएकी थिइनन् । 
जन्मेपछि पनि एनआइसीयूमा राखेर नवजात शिशुको उपचार गर्नुपरेकाले उपचार खर्च बढेको अस्पताल प्रशासनको भनाइ छ । उक्त विषयमा ‘सुत्केरी अस्पतालमा बन्धक ः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसको केही घण्टाभित्रै प्रधानमन्त्री पत्नी शाक्यलगायत मनकारीहरूबाट आवश्यक पहल शुरु भएको थियो ।
“तपाईँहरूले मेरो परिवारलाई ठूलो गुन लगाउनुभयो, जिन्दगीमा भुल्दैनौँ, एउटा समाचारले हाम्रो लागि दुनियाँ नै बदलिएको महसुस ग¥यौँ”, अस्पताल परिसरबाट जुम्ल्याहा बच्चासहित श्रीमती लिएर घर फर्कने क्रममा उनले भने । झण्डै ६० देखि ७० हजार तिर्नु नपरेको उनले जानकारी दिए । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समिरको न आफ्नो घर छ र न त काम । दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उक्त परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।
कोरोना महामारीबाट प्रभावित भइरहेका बेला अस्पतालको उपचार खर्च जुटाउन नसक्दा उनलाई दोहोरो पीडा थियो । उता समयमै पैसा सङ्कलन नहुँदा अस्पताललाई तिर्नुपर्ने बिल दैनिक बढिरहेको थियो । समिर पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाउनुभयो । आफूसँग भएको थोरै पैसा सकेपछि उनी चन्दा सङ्कलनमा लागेका थिए ।  
आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरीब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताए । “आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ”, उनले भने । अस्पतालले समाजिक उत्तरादायित्व बहन गर्दै छुट गरेको जनाएको छ । बेगमले आवश्यक सहयोग प्राप्त हुँदा ठूलो खुशी मिलेको सुनाइन् । 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार