मनकारी गीता कुमारी केसि : जो कठोर संघर्षले १६ बालिकाकी ‘आमा’ बनिन् 

यौन हिंसाको शिकार बनेका १६ वालिकाकी आमा गीता कुमारीको संघर्ष यौन हिंसा पीडितको साहारा बन्दै ‘साझा सहयात्री नेपाल’
शुक्रबार, असार २०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । जहाँ संसारले पीडितहरूको चिच्याहटलाई सुनेर पनि चुपचाप आँखा चिम्लन्छ, त्यहीँ एक महिलाले ती चिच्याहटहरू सुन्ने साहस गरेकी छन् । उनको नाम हो–गीता कुमारी दर्नाल, जसले बलात्कार, यौन हिंसामा परेका बालिकाहरूलाई फेरि बाँच्न सिकाइरहेकी छन् । उनीहरु बस्ने गरेको शहरको एउटा कुनामा रहेको सानो घर केवल आश्रय होइन, त्यो घर हो, आशा, प्रेम र पुर्नजन्मको घर । जहाँ गीताले ती बालिकाहरूलाई आमा बनेर हुर्काइरहेकी छिन् ।  ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको यो आश्रय स्थल(साझा सहयात्री नेपाल) अर्थात घरमा बसिरहेका प्रत्येक बालिकाको आफ्नै कथाहरू छन् । रुवाइ, घाउ र पीडाले भरिएका छन् । १६ जना बालिकाहरूको उद्धार गरेर आमाको भूमिका निर्वाह गरिरहेकी गीता हरेक बालिकाहरुका लागि आश्रय हुन् । पीडामा डुबेका ति बालिकाहरुको गीता एक सच्चा अभिभावकका रुपमा संघर्ष गरिरहेकी छिन् । उनी बालिकाहरूलाई खाना, लुगाफाटा, विद्यालय, उपचार र सबैभन्दा महत्वपूर्ण—माया र आत्मसम्मान दिन्छिन् । बालिकाहरू उनलाई ‘आमा’ भन्छन् र त्यो शब्द गीताका लागि अब अझै अगाडि बढ्ने प्रेरणा बनेको छ । गीताकै लालनपालन र रेखदेखपछि ती बालिकाहरू कक्षामा जान सक्षम भएका छन् ।  उनीहरुको अनुहारमा चमक र सपना छ । जीवनमा केही गरेर देखाउने अठोट छ । आश्रय घरमा बसेर उनीहरु आफूलाई पीडित भन्न पनि रुचाउन छाडेका छन् ।  एक पाँच वर्षीया बालिकाको भयानक घटना आफ्नै आँखा अगाडि देखेपछि उनीहरुको सुरक्षाको लागि काम गर्न भनेर गीताले ‘साझा सहयात्री नेपाल’ नामक संस्था खोलेकी हुन् । एक जनाको पीडा भुलाउन संस्था स्थापना गरेकी गीताले आजका दिनमा १६ बालिकालाई सहारा दिइरहकी छिन् । १६ जनाको आमा बन्न सफल भएकी छन् । संस्था खुलेपछि सुरुमा नौं जना बच्चाहरु मात्र थिए ।  अहिले त्यो संख्या १६ पुगेको छ ।  उनले भनिन्, ‘कोभिडको समयमा यौन हिंसाको घट्ना जताततै सुनिन्थ्यो । सोही बेला रुपन्देही तिलोतमा–८ मा पाँच बर्षीया नानीमाथि उनकै बुबाका साथीले  बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । ति नानीलाई उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा ल्याइएको थियो । म त्यो नानीलाई भेट्न गएको थिएँ । केही आर्थिक सहयोगको साथमा लिएर भेटेको थिए । ति नानीको अवस्था हेरेर मैंले आफूलाई थाम्न र सम्हाल्न सकिन् । जिउभरि निलो डाम र घाउ देखेर धेरै पीडा भएको थियो । पाँच बर्षकै उमेरमा नानीको पाठेघर नै निकाल्नु परेको थियो । उक्त घटनाले मलाई मानसिक रुपमा नै विछिप्त बनायो । त्यसपछि मैंले यस्ता घटनाहरुबाट प्रताडित वालिकाहरुका बारेमा अध्ययन गरें र नयाँ अभियान सुरु गरेको हुँ । ५ वर्षदेखि १८ वर्षभन्दा मुनिका बालिकाहरु बढी पीडित भएको पाएँ । त्यसपछि यो उमेर समूहका बालिकाहरुको लागि केही गर्नुपर्छ भनेर ‘साझा सहयात्री नेपाल’ भन्ने संस्था खोलेर काम सुरु गरेको हुँ ।’ उनले उद्धार गरेकी बालिकाहरुले आफ्नै बुवा, काका र छिमेकीहरूबाट अमानवीय दुव्र्यवहार भोग्नुपरेको थियो । यस्तो घटनाहरुले उनीहरुलाई मनको साथै मानसिकता पनि गहिरो छाप छोडेको छ । गीता हरेक दिन सूर्योदय हुनुभन्दा अगाडि उठेर आफ्ना छोरीहरूको लागि नास्ता तयार गर्छिन् । बच्चाहरूलाई स्कूल लैजान्छिन्, गृहकार्यमा मद्दत गर्छिन्, सपना देख्न सिकाउँछिन् । धेरै जना धेरै कुराको लागि लड्ने संसारमा, गीताले आफूसँग भएको सबै थोक समर्पण नै गरेकी छिन् ।  मानिसहरूले उनलाई सोध्छन्, ‘तपाईं यो सबै किन गर्नुहुन्छ ?’ उनी केवल मुस्कुराउँछिन् र भन्छिन्, ‘किनभने हरेक बच्चा बाँच्ने र माया पाउने मौकाको हकदार छन् । त्यसका लागि हरेक मानवले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’  उनले भनिन्, ‘यहाँ भएका नानीहरु एउटा भयानक घटनाबाट गुज्रिएर आएका छन् । स–साना नानीहरुलाई धेरै याद नहुन सक्छ । तर १२–१४ वर्ष उमेरकाले के भयो भन्ने कुरा बुझेका हुन्छन् । योभन्दा पनि आफ्नै बुबाबाट जो पीडित हुनु भएको छ ति नानीहरुको पीडा हामीले कल्पना पनि गर्न सक्दैनौ । र उनीहरुलाई त्यो अवस्थाबाट बाहिर कसरी निकाल्ने भन्ने नै मेरो लागि सबैभन्दा ठूलो चुनौती बनेको थियो ।’ यीनै मध्य आफ्नै बुबाबाट बलात्कृत एक बालिका रितु स्याङ्तान(नाम परिवर्तन) भन्छिन्,‘पीडादायी सम्झनाहरू सम्झन पनि मन लाग्दैँन् । सम्झिदा रुन मात्र मन लाग्छ ।’ बर्दिबास की १५ वर्षीय रितु गाँउमै बसेर पढ्न पनि सहयोग हुन्छ भनेर इटाभट्टामा आमासँगै काम गर्न भनेर गएकी थिइन् । तर उसको त्यो निर्णय जीवनभरको लागि पीडा दिने निर्णय बन्यो । सोही इटाभट्टामा काम गर्ने क्रममा उनी १३ वर्षको उमेरमा आफ्नै बुबाबाट बलात्कृत हुन परेको पीडा सुनाउँछिन् । कोही बाबु यति कठोर मनको हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैँन् । जुन हातले त्यो छोरीलाई हुर्काएको थियो त्यही हातले त्यस्तो कु–कर्म सोच्न पनि सकिदैन् ।  उनले भनिन्, ‘बुवा मेरो लागि मरेको ठानेको छु । अब म त्यो ठाँउमा फेरि फर्किन् चहन्न् ।’ उनी चुपचाप बताउँछिन्, विगतभन्दा बढी निको भएर अघि बढ्न चहान्छु ।  साथै, उद्धार गरेको बच्चाहरु मध्ये दुई जना तीन वर्षका वालिकाहरू छन्, जो यति साना छन् कि उनीहरूले आफूमाथि भएका अत्याचार के हो भन्ने बुझ्न समेत सक्दैनन् । उनीहरूको जीवन बच्चै हुँदा नै भत्काइएको छ । उनीहरूको बाल्यकाल र सुरक्षा छिनिएको छ । गीता यी बच्चाहरूको कुरा गर्दा मन भारी बनाउदैँ भन्छिन्, ‘उनीहरूले जे भएको हो, बुझ्न समेत पाएका छैनन् ।’ यी सबैभन्दा साना बाँच्नेहरुलाई प्रेम दिने, निको पार्ने र आशाले भरिएको भविष्य दिन गीता दृढ सङ्कल्प भएर लागेकी छन् ।  यस्तो संवेदनशिन विषयमा राज्यको निष्क्रियताप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गर्छिन् । उनी भन्छिन्,‘दुव्र्यवहार र बलात्कार भएका केटीहरूका लागि सरकारले निकै कम मात्रामा सहयोग गरेको छ । त्यसैले मैंले आफैंले नै उनीहरूको मद्दत गर्न थालेकी हुँ । यस्तो कार्यको लागि राजनीतिक पहुँच पनि आवश्यक हुने रहेछ । त्यस्तो पहुँचको अभावले गर्दा पनि सरकारले पीडामा ध्यान दिएको छैन् ।’ ‘समाजमा बसिसकेपछि, शिक्षित नागरिक भइसकेपछि मेरो पनि केही दायित्व हुन्छ भनेर पीडामा परेका छोरीहरुको लागि केही गर्ने सोचेको हो । तर यस्तो काममा सबैभन्दा ठूलो सहयोग र दायित्व भनेको सरकारको हुनुपर्ने हो । सरकारले यस्तो मुद्दामा नेतृत्व गर्ने हो । र त्यसमा हामी जस्ता नागरिकहरुले साथ दिने हो । सरकारले यस्तो खालको पीडित छोरीहरुको लागि दिगो हुनेगरि पुनस्थापना केन्द्र खोल्नुपर्छ,’ सुझाव दिंदै उनले भनिन् । उनी थपन्छिन्, ‘राजनीति भन्दा माथि उठेर, देशका बालबालिका र महिलाहरूको जीवन जोगाउनु सबैको जिम्मेवारी हो ।’ उनको यो आवाजले धेरैलाई प्रोत्साहित गरेको छ र हरेक दिन सरकारको ध्यानाकर्षण गराउन प्रयासरत छिन् । ताकि पीडितहरूले न्याय र संरक्षण पाउन सकून् । गीताको काम केवल उद्धारमा सीमित छैन, उनी परिवार र समुदायभित्र रहेको हिंसाको चक्र तोड्न निरन्तर लडाईंमा छिन् । आगामी दिनहरूमा, गीता एक समग्र सहायता केन्द्र स्थापना गर्ने योजना बनाइरहेकी छिन् । जसले आश्रय र शिक्षासँगै मानसिक स्वास्थ्य परामर्श र समुदायमा जागरुकता कार्यक्रमहरूमा पनि जोड दिनेछ ।  उनले २०७८ पुष ६ गते साझा सहयात्री नेपाल नाम गरेको संस्था दर्ता गरेपनि कानूनी रुपमा सबै कागजातहरु मिलाएर औपचारिकम रुपमा २०७९ बैशाखदेखि सेवा सुरु गरेकी हुन् ।  आफ्नो सबै शक्ति र दृढ संकल्पका बाबजुद पनि, गीता केसी एक्लैले यो गर्न सक्दिनन् । उद्धार गरिएका प्रत्येक बच्चाले आनन्द ल्याउँछ तर जिम्मेवारी पनि सँगै आउँछ । खाना, लुगा, विद्यालयको शुल्क, चिकित्सा हेरचाह, भावनात्मक उपचारको यवस्थापन गर्न सजिलो छैन । गीताले यी बच्चाहरूको हेरचाहमा आफ्नो हृदय, समय र बचत खन्याइरहेकी छिन् । तर अब, उनी बिस्तारै आवाज उठाउँदैछिन– गुनासो गर्न होइन, संसारलाई आफ्नो साथमा उभिन आग्रह गर्न । उनी भन्छिन्, ‘म सक्दो प्रयास गर्दैछु् । आँखा आशा र थकानले भरिएका छन्, तर मलाई थप हातहरू र थप साथ चाहिएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायका केही संस्थाबाट सहयोग आउने हो भने यी छोरीहरुको भविष्य अझ राम्रो बनाउन सकिन्छ ।’ उनी उचित घरको सपना देख्छिन् । जहाँ पर्याप्त ओछ्यान, सिकाइ केन्द्र, भोका पेट र घाइते आत्माहरूलाई खुवाउन सक्ने भान्छा होस ।  उनी भन्छिन्, ‘यदि तपाईंसँग मद्दत गर्ने शक्ति छ भने, कृपया गर्नुहोस् । मेरो लागि होइन तर पहिले नै धेरै पीडा भोगेका बच्चाहरूको लागि ।’ गीताले लाखौं मागिरहेकी छैनन्, उनी करुणा मागिरहेकी छिन्, ती बालिकाहरुको भविष्यको लागि । गीताका अनुसार हाल उक्त आश्रय केन्द्रलाई मासिक एक लाख रुपैंयाँ बढी खर्च भइरहेको छ । उक्त खर्च उनी आफैंले र केही मनकारी व्यक्तिहरुले मात्र पर्याप्त भएको छैन् । अझै उदार मन भएका व्यक्ति र संस्थाहरुको सहयोग आवश्यक रहेको उनी बताउँछिन् । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार