सोसल मिडिया
Contact Us
युनिकोड
। दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने विषयको जानकारी दिएको छ । सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराउने बताएको छ । ‘आजको मितिसम्म विभिन्न देशबाट ४० जना पत्रकारहरुले सम्मेलनमा सहभागी हुनको लागि नाम टिपाएको छ । हामीले सोही बमोजिम होटल बुकिङदेखि आवश्यक तयारी गरेका छौं’, कार्यक्रमका संयोजक सुनील महर्जनले बताए । सम्मेलनको तयारी समेत अन्तिम चरणमा पुगेको उनको दाबी छ । पत्रकार राष्ट्रिय दबूले यसअघि गएको वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले मातृभाषाको पत्रकारिता सुरु गरेको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान भएर सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा छ । सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिइएको छ । पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा हुने आयोजकले जनाएको छ । मातृभाषा संरक्षणको लागि पत्रकारिता मूला नारा दिएर अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन गर्न लागेको छ । सम्मेलनमा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत गर्ने, प्यानल डिस्कसन गर्ने, पत्रकारितामा योगदान गरेका व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ । यस्ता छन् अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल हुने मुख्य एजेन्डा
१. मातृभाषा संरक्षणका लागि पत्रकारिता । २. मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति । ३. सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि । ४. धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता । ५. बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका । ६. मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका । ७. मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।
सम्मानित हुने व्यक्तित्वहरुः १. मल्ल के सुन्दर २. गणेश राई ३. अजितमान तामाङ्ग संस्थागत सम्मान प्रदान गरिने संस्थाहरुः १. रेडियो नेपाल २. गोरखापत्र ३. राष्ट्रिय समाचार समिति ४. नेपाल टेलिभिजन ५. प्रेस काउन्सिल नेपाल