साढे पाँच लाख निजी आवास पुनःनिर्माण

शुक्रबार, पुस १०, २०७७

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
लाभग्राही सूचीमा रहेका भूकम्पपीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दा ६ लाख ३४ हजार ९७३ गुनासो सम्बोधन गरिएको छ । गुनासो सम्बोधनबाट एक लाख ६ हजार ४६५ पुनःनिर्माण लाभग्राही कायम भएका छन् । गुनासो सम्बोधनबाट प्रबलीकरण लाभग्राही सूचीमा समावेश हुनेको संख्या ६७ हजार ६८१ रहेको छ । प्राधिकरणले गरेको गुनासो सुनुवाइमा चित्त नबुझ्नेले सम्बन्धित जिल्ला तहमै उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ । यसरी दर्ता गरिएका गुनासो उच्च अदालतका न्यायधीशको अध्यक्षतामा रहेको पुनरावेदन समितिले निर्णय गर्ने व्यवस्था भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ मा छ । 

जोखिम वर्गका २४२ घर पुनर्निर्माण
जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर तोकिएको समयमा पुनर्निर्माण गर्न ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक अति प्रभावित १४ जिल्लामा खटाइएको छ । यसरी खटाइएका जनशक्तिको सहयोगमा जोखिम वर्गका २४२ घर पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । ११ हजार ४३७ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । एक हजार ३५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

५० एकीकृत बस्ती पुनर्निर्माण
निर्माणधीन १३० एकीकृत बस्तीमध्ये ५० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । अरु एकीकृत बस्ती पुनर्निर्माण भइरहेको जनाइएको छ । हालसम्म कायम भएका पुनर्निर्माण लाभग्राहीले मङ्सिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्म पहिलो किस्ता लिइसक्नुपर्ने समयसीमा प्राधिकरणले तोकेको छ । पहिलो किस्ता लिएका लाभग्राहीले जग निर्माण सम्पन्न गरी माघ मसान्तसम्म दोस्रो किस्ताका लागि सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने समयसीमा छ । पुनर्निर्माण र प्रबलीकरण लाभग्राहीले सम्पूर्ण पुनर्निर्माण सम्पन्न गरी २०७८ वैशाख मसान्तसम्म निवेदन पेश गरिसक्नुपर्ने छ । 

भूकम्प प्रभावित ४६५ सम्पदा पुनर्निर्माण
भूकम्पले क्षतिग्रस्त ९२० सम्पदामध्ये ४६५ को पुनर्निर्माण सम्पन्न भएको छ । भत्किएका सात हजार ५५३ विद्यालयमध्ये ६ हजार ८५ अर्थात् ८१ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार ४६८ विद्यालय पुनर्निर्माणको क्रममा रहेको छ । एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी स्वास्थ्य संस्था चालु आवमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । भत्किएका ४१५ सरकारी भवनमध्ये ३७४ अर्थात् ९० प्रतिशतको काम सम्पन्न भएको छ । ३८ सरकारी भवन पुनर्निर्माणको चरणमा रहेका छन् । प्राधिकरण अन्तर्गत पुनर्निर्माण भइरहेका सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भएको छ । दुईवटा सुरक्षा निकायका भवन पुनर्निर्माणको चरणमा रहेको छ । 

भूकम्प प्रभावित २९४ गुम्बा मर्मत
क्षति भएको एक हजार ३२० गुम्बामध्ये ८९५ को पुनर्निर्माण गर्नुपर्नेछ । ४०२ गुम्बा मर्मत गर्नुपर्ने जनाइएको छ । २९४ को मर्मत सम्पन्न भएको छ । हाल १०८ को मर्मत भइरहेको छ । सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ गुम्बामध्ये ३६ वटाको पुनर्निर्माण अघि बढेको छ । त्योभन्दा सानो आकारका ६२१ गुम्बामध्ये १०१ को पुनर्निर्माण अघि बढेको छ । 

प्रभावित जिल्लाका ४४३ किमी सडक पुनर्निर्माण
 भूकम्प प्रभावित जिल्लामा बनाउनुपर्ने ७६२ किमी सडकमध्ये ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनर्निर्माण अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । खानेपानी विभाग मार्फत् हजारवटा खानेपानी योजना सम्पन्न भएका छन् । कार्यक्रममा प्राधिकरणका सचिव सुरेश आचार्यले माघ महिनामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सर्ने गरी पूर्वी भागको प्रबलीकरण भइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार