पहिराेका कारण मनाङमा सडक ठप्प

बुधबार, असार १६, २०७८

काठमाडौँ । वर्षापछि आएको पहिराेका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ ।
मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन बाँकी रहेको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । अबको एक सातामा नै सडक खुलाइसक्ने गरी काम भइरहको योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बताए । मानिसलाई हिँड्नसमेत बाटो नभएर झुण्डिएर यात्रा गर्नुपरेकाले पहिले मानिस हिँड्न सक्ने सडक बनाउन लागिएको छ । श्रेष्ठ भन्छन्, “मान्छेहरु सजिलै आउन र जान सक्ने गराउन लागिएको छ ।”
बेँसीशहरबाट माथि २२ किमी सडक खुलाइएकामा अहिले त्यहाँबाट अघि बढिरहको प्रमुख श्रेष्ठले बताए । अहिले बेँसीशहरतर्फबाट मात्र सडक खुलाइएकामा चामेबाट तल खुलाउनका लागि अनुरोध गरेर पत्र सडक विभाग पठाइएको कुरा उनले बताए । अहिले एक सातामा मनाङको सीमासम्म पहिराे हटाउने गरी अवरुद्ध सडक खुलाइँदै आएको छ । सीमासम्म पुग्न मात्रै १३ किमी बाँकी भए पनि रामबजारमा झण्डै ६०÷६५ मिटर सडक भासिएको छ । 
कच्ची सडक भएकाले विगतका वर्षमा पनि यो सडक वर्षामा अवरुद्ध भएको थियो । गत आवमा पनि झण्डै डेढ महिना सडक ठप्प भएको थियो । पहिल–पहिले एक÷दुई ठाउँमा हुँदा हटाएर सञ्चालन भइहाल्ने भए पनि अहिले पूरै सडकभरि पहिरो भएकाले खुलाउन बढी समय लाग्ने देखिएको श्रेष्ठले बताए । कतिपय ठाउँमा सडक नै भासिएकाले त्यहाँ पुनःसञ्चालन गर्न बढी समय लाग्नसक्ने देखिन्छ । उनले भने, “एकातिर ठूलो पहिरो छ भने अर्कातिर पूरै ट्र्याक नै बगाएकाले नयाँ ट्र्याक बनाउनुपर्ने अवस्था छ ।”

मनाङका जनप्रतिनिधि, प्रशासन र स्थानीयवासीले सडक कहिले खुल्छ भनी चासो देखाइरहेका छन् । जिल्लामा राहत, खाद्यान्न, औषधिलगायतका सामान ढुवानी गर्न नसकिएकाले सबैतिरबाट चासो भएको प्रमुख श्रेष्ठले बताए। त्यहाँ प्रयोग भएका सवारी साधनका चालक ज्यान जोखिममा राखेर काम गरिरहेको उनले बताए । माथिबाट कतिबेला ढुङ्गा खस्छ भन्ने त्रास भए पनि काम भइरहेको छ । जतिसक्दो चाँडो खुलाउन लागिए पनि प्रगति भने हासिल छैन ।
पहिरो पन्छाउनका लागि अहिले लमजुङतर्फबाट चारवटा सवारी साधन लगिएका छन् । दुई स्काभेटर र दुई लोडर राखेर काम भइरहेको छ । ती सवारी साधनका लागि बेँसीशहरबाट इन्धन लगेर काम भइरहेको प्रमुख श्रेष्ठले बताए। सडकमा पहिरो आइरहेकाले प्रयोगमा भएका सवारी साधनसमेत समय–समयमा बीचमा रोकिने गरेका छन् । उनका अनुसार अघि पुगिसकेको साधन अड्किएमा पछाडिबाट खुलाउँदै लगेर निकाल्ने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार