विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब, साढे १४ महिनाको आयात धान्ने 

सोमबार, फागुन २६, २०८१
मयुर प्लाई

काठमाडौं । विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६।१ प्रतिशतले वृद्धि भई माघ मसान्तमा आइपुग्दा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।  राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ मसान्तमा १३।९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा  माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।० प्रतिशत रहेको छ ।  आर्थिक वर्ष २०८१–८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् । असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार