‘हरिसिद्धि नाच’ चलाउन २५ लाख सहयोग

शनिबार, असार १२, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले वडा नं २८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा रकम सहयोग गरेका हौं ।” यसैगरी शुक्रबार वडा नं २१ खोकनाको सिकाली नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि पनि २५ लाख रुपैयाँ नै सहयोग गरेको महर्जनले जानकारी गराए ।  अध्यक्ष महर्जनले अहिलेको समयमा परम्परा धान्न निकै गाह्रो हुँदै जाँदा कोषको रकमले आउँदा दिनका सजिलै अघि बढ्न सक्ने भनाइ राखे । महानगरपालिकाले पाटन दरबार परिसरमा हरेक वर्ष मनाइने कार्तिक नाचको अक्षय कोष स्थापना गर्न बितेको करिब ६ महिना अघि अर्थात् पौष २६ गते रु ५० लाख संरक्षण समितिका अध्यक्षलाई सहयोग गरेका थिए ।  नेपाल महात्मामा उल्लेख भएअनुसार हरिसिद्धि भवानी सत्य युगमा नै प्रकट भएकी हुन् । महात्माको २६आँै अध्यायमा स्वस्थानीका पात्र अगस्त्य मुनिले पाटनको कुम्भेश्वरको पूजा गरी हरिसिद्धि भवानीको दर्शन गरी दक्षिण दिशामा जानु भएको विषय उल्लेख छ । नेपाल भाषामा लेखिएअनुसार यो नाट्य कृति ९४१ अघीनै शुरु भएको हो । नेवारी संस्कृतिअनुसार भवानी जात्रामा तान्त्रिक विधिको प्रयोग गरी नृत्यमञ्चन वा जात्रा गर्ने गरिन्छ ।
डा.चुन्दा बज्राचार्यले लेखेका ‘नेपालमा नाट्यको इतिहास’ अनुसार नाटकलाई नृत्यको रूपमा देखाउने परम्परा उज्जैन (भारतका) राजा विक्रमादित्यको पालादेखि शुरु भएको हो । विक्रम सम्वत ०१ देखि ०३ सम्म लगातार नेपालमा यो जात्रा मञ्चन भइ लोप भएको भाषा वंशावलीमा उल्लेख छ ।  राजा नरेन्द्रदेवको पालामा रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याउन हरिसिद्धि भवानीको साधना गरिएको थियो । साधना पछि मच्छिन्द्रनाथ नेपाल आएको हुँदा भवानी र मच्छिन्द्रनाथको महत्वसँगै अघि बढेको पनि देखिन्छ । संसारमा रहेका दुष्टको नास गरी सज्जनको हित गर्ने भएकाले हरिसिद्धि भवानीलाई सङ्कट हर्ता वा सहकालकी देवीका रूपमा पुज्ने गरिन्छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार यी भवानी नेपालमा सबैभन्दा पहिले प्रकट भएकी देवी हुन् ।
महादेव र पार्वती पासा खेलेर मग्न भएको अवस्थामा पराक्रमी दुई दैत्य चण्ड र प्रचण्ड आई नन्दीलगायत शिव गणलाई घाइते बनाएर पार्वतीको हरण गर्न खोज्छन् । आफ्नो अगाडी यत्रो ठूलो साहस गरेका यी दैत्यको बद गर्न महादेवले पार्वतीलाई आग्रह गर्छन् । पार्वतीले शिवशक्ति स्वरुप चण्डीका भगवतीको रूप धारण गरी यी दुई दैत्यको बध गर्छिन् । पार्वतीले यिनीहरूको बद गरेपछि महादेवले उनलाई खुशी भई अब तिम्रो नाम पृथ्वीमा हरिसिद्धि भनेर प्रख्यात हुने वरदान दिएको किवदन्ती छ । ‘हर’ को अर्थ ‘महादेव’ र ‘सिद्धि’ को अर्थ ‘शक्ति’ हो । हर अर्थात् महादेवको आज्ञा पालना गरेर कार्य सिद्धि गरेकाले यीनलाई हरसिद्धिमाई भनिएको भाषा वंशावलीमा उल्लेख छ । विगतमा भवानी जात्रा मङ्सिर पूर्णिमादेखि फागुपूर्णिमा सम्म तीन महिना मनाउने गरिन्थ्यो । समयसँगै मानिसको अनुकूलता नमिल्दा धान्य पूर्णिमाका दिन र फागु पूर्णिमाका दिन गरी तीन महिना पुराउने चलन हाल रहेको स्थानीयको मत छ ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार