मस्र्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

शनिबार, असार १२, २०७८

मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ । मस्र्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो ।  अहिले जेसिबीको प्रयोगबाट नदीलाई  पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका  काठ  पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।  वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । “नदीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । पेत त आइपुग्यो ।  काम गर्न सकिएको छैन” ,उनले भने, “पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो ।” मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर–चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। 
नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठीन भएको उहाँले बताउनुभयो । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएको काठहरुले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ । “सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ । ” उनले भने । 
उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आएपनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुदाँ जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमपा विच्छेद भएको छ । गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए । अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी  छ । 
विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो ।  मनसुन  शुरुभएदेखि आएको बाढीपहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थानीय बताउँछन् । बाढीपहिरोको प्रभाव शुरुआती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ । अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरुमा क्षति पु¥याउदै गएको जनाइएको छ  । 
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार