गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रम पारित, आज बजेट

नगरपालिकाले समाजशास्त्री डोरबहादुर विष्ट सामाजिक पुरस्कार स्थापना गर्ने
बिहीबार, असार १०, २०७८

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले समाजशास्त्री डोरबहादुर विष्ट सामाजिक विकास पुरस्कार स्थापना गर्ने भएको छ । “कृषि पुर्वाधार र पर्यटकीय नगरी, समावेशी स्वच्छ र समृद्ध गोदावरी” भन्ने मुल नाराका साथ नगरपालिकाका प्रवक्ता मिलन सिलवालले आउँदो आर्थिक वर्ष २०७८–०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नामको अक्षयकोष मार्फत पर्यटन तथा संस्कृति संरक्षणमा जोड दिइने बताए ।
उक्त नीति तथा कार्यक्रममा नगरपालिकामा हरेक ब्राह वर्षमा पटक पटक सञ्चालन हुने गोदावरी मेला र नवदुर्र्गा मेलालाई जोगाइ राख्न अक्षयकोष स्थापना गर्नाका साथै यहाँ होटलहरूको न्यूनतम सेवा तथा गुणस्तर मापदण्ड निर्धारण गरी पर्यटकको प्रभावकारी सत्कार, सेवा र सुरक्षाका व्यवस्था मिलाउन मापदण्ड बमोजिम सञ्चालित होटलहरूमा ग्रीन स्टिकर टाँस्ने व्यवस्था गर्ने भएको छ ।
गोदावरीका पर्यटकीय क्षेत्रमा जानकारीमूलक डिजिटल बोर्ड राख्नाका साथै सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट पर्यटकीय गन्तव्य स्थलहरूका बारेमा व्यापक प्रचारप्रसार गर्दै बालउद्यान, फन पार्क र जलक्रिडा स्थलहरूको पनि विकास गर्ने योजना अघि सारेको छ ।
ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक वडाबाट तीन–तीन महिनाका लागि मल्टीभिटामिन र क्याल्सियम उपलब्ध गराउनाका साथै ५ वर्ष उमेर मुनिका बालबालिकामा कुपोषण विहीनतालाई सुनिश्चित गर्न पोषण सहुलियत तथा पोषण सम्बन्धी ज्ञानका कार्यक्रमसमेत सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसैगरी गोदावरीले हरेक वडामा व्यायामशाला खोल्ने, एक वडा एक योग हल बनाउँ ‘योग नगर घोषणा’ गर्नाका साथै नगरपालिकालाई जडिबुटी केन्द्रका रूपमा समेत विकास गर्ने भएको छ ।
त्यसैगरी टाखेल–टिकाभैरव –देवीचौर –भट्टेडाँडा– लेले खण्डका पर्यटकीय क्षेत्रहरू समेट्ने गरी ‘पर्यटकीय मेट्रो रेल’ निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
नगरभित्र उत्पादित कृषि उपजको पहुँच सहज रूपमा बजारसम्म पु¥याउन चापागाउँ–टाखेल तरकारी बजार, वडा नं ७ देवीचौरमा दुध चिस्यान केन्द्र र वडा नं ८ डुकुछापमा तरकारी चिस्यान केन्द्र निर्माण गरिने जानकारी गराइयो ।
गोदावरीका जमिन बाँझो राखेको सूचना दिनेलाई जरिवानाको २५ प्रतिशत पुरस्कार, यहाँको माटोको गुणस्तरको आधारमा उपयुक्त खेती गर्नेलाई प्रोत्साहन गर्न माटो परिक्षणको व्यवस्था, मोबाइल भेटेनरी एम्बुलेन्सको व्यवस्था गरी पशु स्वास्थ्य सेवालाई चुस्त र दुरुस्त बनाइने भएको छ ।
गोदावरीले कृषि तथा पुर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान,  कृषि क्षेत्रको लगानीलाई नतिजामूलक बनाउन तरकारी खेतीका लागि लेले, पुष्पका लागि गोदावरी, च्याँउका लागि चापागाउँ र गोलभेडा खेतीका लागि डुकुछाप क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सार्ने भएको छ । नगरपालिकामा सञ्चालन गर्ने योजनाहरूको छनोट तथा खोजीका लागि ‘विज्ञ वृत्ति’ को व्यवस्था, कोभिड–१९ का कारण मारमा परेका उद्योग तथा कलकारखाना व्यवसायीका हितमा यही असार मसान्तसम्ममा आफ्ना व्यवसायहरू दर्ता तथा नविकरण गरे तोकिएको वार्षिक दरमा ३० प्रतिशत छुट दिनाका साथै जरिवाना समेत मिनाहा गर्ने योजना प्रस्तुत गरिएको छ ।
गोदावरीले आकस्मिक सहयोग कोष खडा गरी सामुदायिक विद्यालयमा सेवारत शिक्षकको कुनै कारणले स्वर्गारोहण भएमा पारिवार भरथेकका लागि रु ५० हजार दिने भएको छ । गोदावरीले नगरवासीको स्वास्थ्यलाई मध्यजनर गरी वडा नं ५ लेले तथा वडा नं १४ बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा २०–२० शय्याका अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ ।  हाल कोरोनाका कारण सञ्चालन भइरहेको अनलाइन शिक्षाको बढ्दो मागलाई ध्यानमा राखी गोदावरीले सबै सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेटको सुविधा जडान,  कक्षा १ मा २५ बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयलाई प्रत्येक विद्यालय २० हजारका दरले प्रोत्साहन अनुदान, सामुदायिक विद्यालयहरूमा स्वास्थ्य सेवा एवं शिक्षाका लागि एक नर्सको व्यवस्था गरी विद्यार्थीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने नीति अघि सारेको छ ।
काठमाडौंमा उपत्यका भित्र हुने सार्क खेलको कुनै एउटा खेल नगरपालिका भित्र गराउन त्यसै अनुरूपको पूर्वाधार निर्माणको लागि सम्भाव्यता अध्ययन, बालबालिकाको जीवन बीमा, सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पठनपाठन गराउने अभिभावकहरूलाई घर अनि नक्सा पासमा २५ प्रतिशत छुट दिनाका साथै पुरातात्विक शैलीमा घर निर्माण गर्नेलाई रु एक लाखको विशेष सहुलियत समेत दिने घोषणा गरेको छ । आगलागीका क्षति नियन्त्रण गर्न एक वारुणयन्त्र खरिद गरी २४ औं घण्टा सेवा दिने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार