सूर्यदर्शन सहकारी ठगी प्रकरण

थुनछेक बहसमा व्यक्ति पिच्छे सजायको माग दाबी 

मंगलबार, पुस १६, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएपछि मंगलबारबाटै थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान पश्चात थुनछेक बहस सुरु भएको हो । तीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार नै सकिएको थियो ।
सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट बहस सुरु भएको हो । मंगलबार कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरे । उनीहरूले प्रहरीको अनुसन्धान प्रतिवेदन, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन विशेष समितिको प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट सातैजना प्रतिवादीलाई फौजदारी कार्यविधि संहिता(२०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नुपर्ने तर्क गरे ।
बुधबार क्रमैसँग सरकारी वकिलको बहस हुने र सरकारी वकिलको बहस सकिएपछि जाहेरवाला तर्फका कानुन व्यवसायी र त्यसपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘थुनछेक बहसको क्रममा सरकारी वकिलले सबै प्रतिवादीको हकमा सजायको मागदाबी अनुसार बहस गरेका छन्,’ स्रेस्तेदार खनालले भने, ‘थुनछेक आदेश आउँदा प्रतिवादीको दाबी अनुसार व्यक्तिपिच्छे आदेश आउँछ ।’ उनका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता विष्णुराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गर्ने छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार