ललितपुरमा देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी 

स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलता मार्फत रोजगारी वृद्धि गर्न उद्योगमन्त्रीको आह्वान
शनिबार, पुस १३, २०८१

ललितपुर । ललितपुरको चापागाउँ दोबाटोस्थित उद्यमी घरमा आजदेखि १० दिनसम्म देशैभरका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ सुरु भएको छ । उद्यमी घरमा आजबाट सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने छ । 
मेलामा देशै भरका घरेलु उत्पादन, स्थानीय कृषि, खाद्यान्न, गेडागुडी, जडीबुटीजन्य सामग्री, मसला, चिया, बाँस, काठ, माटो, सेरामिक्स, पराल, खोस्टा, घाँसपात, रेजिन, पित्तल, क्राफ्टबाट बनेका सामग्री, परम्परागत प्राविधिक सामानहरु, नेपाली बाद्यवादन, घरायसी तथा कार्यालय सजावतका सामग्री, हस्तकलाका विविध सामग्रीहरु, हेम्प, अल्लो, कटन, ढाका, सुती, खादी खद्दरका तयारी कपडाहरु, जुत्ता चप्पल, टोपी, पर्स तथा ब्यागहरु, सबै जातजातिको पहिरन, डेस र गरगना, गलैंचा, राडीपाखी, उलनबाट बनेका सामग्री, क्यानभास आर्ट, पेन्टिङ, फ्रेमिङहरु, डिजाइन, छपाई तथा प्रिन्टिङ सेवा, मायाको चिनो, उपहारका सामग्री, मौलिक परिकारको शुद्ध शाकाहरी रेष्टुरेन्ट, सिलाई, बुटिक तथा गार्मेन्टका सबै सेवासहित नेपाली कला संस्कृति र सीपहरु राखिएका छन् ।  मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । 
उनले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलता मार्फत रोजगारी वृद्धि गर्न चाहेको बताए ।  मन्त्री भण्डारीले नेपाली माटो, मन, मस्तिष्क, उत्पादनमा समृद्धिको ठूलो सम्भावना रहेको बताए । 
'नेपालको उत्पादन राष्ट्रिय अभियानका साथ कार्यान्वयनमा लैजानुपर्छ, यसलाई संघीय सरकारबाट कार्यान्वयन गर्दै प्रदेश र स्थानीय तहमा लागू गर्छौं, सरकारको पोर्टल बनाएर सार्वजनिक खरिद कार्यालयले मुल्य निर्धारण गरेर व्यवस्थापन गर्ने तयारी भैरहेको छ; मन्त्री भण्डारीले भने ।

WhatsApp-Image-2024-12-28-at-15.36.41-(1)-1735381620.jpeg
उनले सार्वजनिक निकायमा स्वदेशी बस्तु प्रयोग सम्बन्धि कार्यविधि २०८१ पारित भइ राजपत्रमा प्रकाशनको तयारीमा रहेको बताउँदै राजपत्रमा प्रकाशन लगातै कार्यान्वयनमा आउने जानकारी गराए । 
'मेक इन नेपाल र मेड इन नेपाल सरकारको प्राथमिकतामा छ, चैत महिनामा वितरण हुने पोसाक भत्ताबाट नेपाली उत्पादनको उपयोग हुने नीति लिएको छ। स्टार्टअप नीति गत बर्षदेखि लागू भएको छ, यस वर्ष नवीन सोचमा आधारित रहेर पेश गरिएको अवधारणालाई एक अर्व न्युनतम व्याजदरमा लगानी गर्ने तयारी अन्तिम चरणमा छ, गाउँगाउँ बस्तीबस्तीमा नवप्रवर्तनशील अवधारणा र योजनालाई लगानी गर्ने वातावरण तयार गर्छौं' मन्त्री भण्डारीले भने । 
बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले उद्यमी घरको यो प्रयत्न साना तथा घरेलुु उद्योगका लागि महत्त्वपूर्ण भएको बताइन् । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले  ३५ ओैं कला नगरीमा भएको साना तथा घरेलुु उत्पादनको यो मेला ठूलो काम भएको बताए ।  नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकोमा उद्यमी घरलाई आभार व्यक्त गरे । 
'उद्यमी घरले नेपालमा नै रोजगारीको अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ मा नै स्वदेशी बस्तु उपयोग तथा खरिद नीति आए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको थियो, अहिले मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गरेर हौसला बढाउने काम गरेको छ', उनले भने । 
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामानहरु संकलन गरेर सहज रुपमा निर्यात गर्न र नेपालभित्र उपयोगको अवसर सृजना गरेर राम्रो काम गरेको बताए । 
उद्यमी घरका सञ्चालक दिपक कार्कीले नेपाली कला संस्कृतिको प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरुको उत्पादनलाई प्रवर्द्धन गरी रोजगारीको अवसर सृजना गर्ने काम गर्दै आएको जानकारी गराए । उनले उद्यमी घरमा ६ वटै तल्लामा नेपाली परम्परागत तथा घरेलुु उत्पादनलाई समेटिएको बताउँदै स्थानीय स्तरमा उपयोगमा आउन नसकेका धेरै सम्भावना भएका स्रोत साधनलाई उपयोग गरि आर्थिक समृद्धिका लागि सृजनशील काम गरेको बताए । 
उद्यमी घरमा आजबाट सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शोभा घिमिरेले जानकारी गराइन् । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार