पशुबलीविरुद्ध काठमाडौं उपत्यकामा शान्तिपूर्ण पदयात्रा 

जावलाखेलबाट सुरु भएको र्‍यालीमा नयाँबानेश्वरमा पुगेर सम्पन्न 
शुक्रबार, कात्तिक ३०, २०८१

ललितपुर । पशु कल्याण संघ नेपालले  विश्वशान्ति तथा पशु कल्याणका लागि पशुबलीविरुद्ध आज बिहान शान्तिपूर्ण पदयात्रा गरेको छ । बिहान ८ बजे ललितपुरको जावलाखेलबाट सुरु भएको पदयात्रा कुमारीपाटी, मंगलबजार, बगलामुखी, शंखमूल हुँदै नयाँ वानेश्वरस्थित एभरेष्ट होटेल अगाडि पुगेर समापन भएको हो । पशु कल्याण, शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको विशेष पहलमा पशुबलीविरुद्ध शान्तिपूर्ण पदयात्रा गरिएको हो ।  पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुबलीकोविरुद्ध आम नागरिकलाई सचेत बनाउन पदयात्रा आयोजना गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘पशुबलीलाई निरुत्साहित गर्दै अन्त्य गर्न हामीले पदयात्रा राखेका हौँ ,सबैलाई सहभागी हुन अनुरोध गर्छु ।’ संघकी अध्यक्ष श्रेष्ठले पशुबलीको विकल्पमा नरिवल वा भेटी चढाउन आग्रह गरेकी छन् । आज गरिएको पदयात्रा असोज ११ र १२ गते आयोजना गर्ने गरी तय भएपनि त्यतिबेला परेको भीषण वर्षाका कारण रोकिएको थियो । यसैबीच संघले केही महिना अघि  बारामा पशुबलीविरुद्ध पदयात्रा आयोजना गरेको थियो । बारामा आयोजित पदयात्रामा हजारौंको सहभागिता रहेको थियो । प्रत्येक पाँच वर्षमा बारा जिल्लाको गढीमाईमा लाग्ने मेला यो वर्ष मंसिर महिनामा लाग्दैछ । मेलामा हजारौं पशुलाई मनोकामना पूरा हुने विश्वासमा बली दिइन्छ ।

viber_image_2024-11-15_18-22-36-271-1731676872.jpg
Rally-1-1731676993.jpg
rallu-2-1731676990.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार