उच्च माग धान्न ‘तस्करी सुन’ कै भरमा बजार

मूल्य आकासिँदा सुनको बजार सुस्त 

बुधबार, कात्तिक २१, २०८१
Global Ime Bank

काठमाडौं । मंसिर महिना सुरु हुन अब १० दिन पनि बाँकी छैन । मंसिरलाई बिहेको महिनाका रूपमा लिइन्छ । बिहेमा सर्वसाधारदेखि सबै बर्गले सुन किन्ने गर्छन् । यो महिना सकि नसकी सुन किन्नुपर्ने वाध्यतामा सर्वसाधारण हुन्छन् । आकासिँदो मूल्यका कारण बिहेका लागि सुन किनेर राखौं न त भन्ने अवस्था पनि छैन अहिले । नकिनी नहुनेहरू पनि मूल्यकै कारण गम खाएर बसेका छन् ।  भर्खरै हाम्रो घर आँगनबाट बाहिरएको नेपालीको दोस्रो ठूलो चाड तिहारका बेला सुनको खपत र मूल्यका बारे विशेष चर्चा भयो । धनतेरस भनिने त्रयोदशीका दिन एकै दिनमा झन्डै चालिस किलो सुन बिक्री भएको अनुमान व्यवसायीहरूले गरेका छन् । उच्च खपत भएको सुन नेपालको आन्तरिक उत्पादन होइन । बजारको उच्च मागलाई धान्न कताबाट आउँछ सुन ? 
कारोबार रकम हेर्दा सुनको मूल्य ऐतिहासिक रूपमा नै उच्च बिन्दुमा पुगेको छ । तिहार विदाको दिन सोमबार सुन प्रतितोला १ लाख १७१ हजार रुपैयाँमा कारोबार भयो । हिजो मंगलबार अलि घटेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भयो । 

सुनको गहना
नेपालको उत्तरी छिमेकी चीन विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश भए पनि नेपालमा सबैभन्दा धेरै सुन संयुक्त अरब ईमिरेट्सबाट आउने गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२३ मा विश्वभरि उत्पादन भएको सुनको १० प्रतिशत हिस्सा चीनमा भएको थियो । तर नेपालमा औपचारिक बाटोबाट भित्रिने सबैभन्दा धेरै सुन संयुक्त अरब इमिरेट्सबाट आउने गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए । ‘हाम्रोमा सबैभन्दा धेरै सुन दुबईबाट आउँछ । स्वीट्जरल्यान्डबाट पनि आउँछ तर मूलतः दुबईबाटै आउँछ’, आचार्यले भने । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली नेपालमा औपचारिक माध्यमबाट आउने सुनको ९० प्रतिशत हिस्सा यूएईबाटै आउने गरेको बताउँछन् । ‘बैंकहरूले दुबईमा अभाव हुँदा मात्रै दुबईकै माध्यमबाट वा सिधै स्वीट्जरल्यान्ड, हङकङ, सिङ्गापुरबाट पनि ल्याउँछन् । नभए अधिकांश सुन दुबईबाटै आउँछ’, अध्यक्ष रसाइलीले भने । यूएईले अफ्रिकी देशहरूमा खानीबाट निकालिएको सुन आफैँ प्रशोधन गर्दै आएको छ ।

नेपालमा कति आउँछ सुन ?
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई नेपालमा सुन आयातको परिमाण निर्धारण गर्ने गरेको छ । देशको अर्थतन्त्रको अवस्था, आयात निर्यातको अवस्था र डलर सञ्चितिको अवस्थाका आधारमा नेपालमा सुन आयात सम्बन्धी नीति निर्धारण गर्ने गरिन्छ । ‘अहिले वाणिज्य बैंकहरूले दैनिक रूपमा २० किलो सुन आयात गर्छन्’, राष्ट्र बैंकका सूचना अधिकारी आचार्य भन्छन् । विदेशबाट फर्कने नेपालीहरूलाई २५ देखि ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार छुट दिइने गरिन्छ । यो त भयो औपचारिक आँकडा । त्यस बाहेक नेपालमा अनौपचारिक माध्यम अर्थात तस्करीको माध्यमबाट सुन आयात हुने गरेको छ । समय–समयमा भन्सार कार्यालय र सुरक्षा निकायहरूले तस्करीका माध्यमबाट विदेशबाट ठूलो परिमाणमा भित्र्याएको सुन बरामद गर्ने गरेका छन् । अहिले नेपाल भन्दा भारतमा सुनको मूल्य सस्तो भएका कारण भारतबाट गैरकानुनी बाटोबाट सुन भित्रिने गरेको छ ।

कति छ माग ?
नेपालीहरूको प्रमुख मध्येको एक पर्व तिहारमा त्रयोदशीका दिनलाई धन्वन्तरि जयन्ती अर्थात् ‘धनतेरस’ का रूपमा मनाउने प्रचलन बढेसँगै त्यस दिन सुन किन्ने प्रचलन पनि बढ्दो छ । नेपाल राष्ट्र बैंकले पनि उक्त दिन पारेर सुनचाँदीका सिक्का बिक्री गर्ने गरेको छ । यो वर्ष उक्त दिन ३५ देखि ४० किलोग्राम सुन बिक्री भएको आफूहरूको आकलन रहेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष रसाइलीले बताए । ‘यो वर्ष परिमाणमा ठूलो नभए पनि आर्थिक कारोबारको हिसाबले धेरै सुन विक्री भएको छ । पहिला दुई तोलाको पैसाले अहिले एक तोला मात्रै आउँछ’, रसाइलीले भने । धन्तेरसको एकै दिन ५० देखि ६० करोड बराबरको सुन बिक्री भएको व्यवसायीहरूको आकलन छ । नेपालमा दशैँबाट सुनको माग बढ्न थाल्ने र त्यो फागुनसम्मै कायम रहने व्यवसायीहरू बताउँछन् । दशैँ लगत्तै तिहार र त्यसपछि छठ जस्ता गरगहनाको प्रयोग गरिने चाडहरू आउने र मङ्सिर देखि पुस बाहेक फागुनसम्म विवाहका धेरै लगनहरू हुने गरेका कारण पनि सुनको माग बढ्ने व्यवसायीको भनाइ छ । सरकारले नेपालमा दैनिक २० किलो सुन ल्याउन अनुमति दिने भएपनि सुनको कम खपत हुने समयमा दैनिक १०–१२ किलो र अधिक खपत हुने समयमा ३० किलोसम्म सुनको माग हुने गरेको व्यवसायीकै भनाइ छ ।  नेपाल राष्ट्र बैंकले दैनिक १५ देखि २० किलो सुन, व्यवसायीलाई कोटा प्रणालीका आधारमा उपलब्ध गराउँदै आएको छ । दैनिक ३० केजी सम्म खपत भईरहेको र बढीमा ५० केजीसम्म खपत हुने व्यावयासीको भनाइ छ । बजारमा अवैध सुन खपतबारे यथार्थ तथ्याङ्क नभएको बताउँदै राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल भन्छन्, ‘अवैध रुपमा भित्रिएको सुनका कारण अलिकति असर सुनको माग–आपूर्तिमा परेको छ ।’’ गत वर्ष ३३ किलो सुन तथा यो वर्ष ८८ किलो सुन बरामद  भएको सार्वजनिक भयो । तस्करीमा उच्च तहको मिलेमतो रहेको लख काटिए पनि ठूल्ठूला सुन तस्करी प्रकरणमा उच्च तहका नभई साना माछा मात्र प्रहरीले पक्राउ गर्ने गरेको छ । सुन काण्डमा माओवादीका उच्च तहका नेताहरूको संलग्नताको आशंका गरिए पनि अनुसन्धान प्रक्रिया त्यता तिर सोझिएन । कारण हो तस्करीमा प्रत्यक्ष परोक्षा राजनीतिक संरक्षण हुनु । 

सुन

‘अवैध सुनको प्रमुख गन्तव्य भारत’
ठूलो परिमाणमा अवैध सुन बरामद गरेको प्रहरीका अधिकारीहरूले भारत लग्ने उद्देश्यले सुन तस्करी भइरहेको बताएका छन् । तस्करी गरेर ल्याइएका ठूलो परिमाणमा सुन र त्यसमा रहेको भनिएको उच्च संलग्नता तथा मुख्य कारोबारी समातिएका छैनन् । भारतले विदेशी मुद्राको खर्च कटौती गर्न सुनको आयातमा कडाइ गरेपछि भारतीयले सुन खरिद गरेर सञ्चित गर्न खोज्ने प्रवृति बढेकाले नेपाल हुँदै सुन तस्करी बढेको जानकारहरू बताउँछन् ।  सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक–पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेपनि  मुख्य कारोबारी र तिनका संरक्षकलाई छुन नसक्नुलाई शंकाको घेरामा राख्नु पर्छ । दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको उनीहरुको भनाइ छ । 

मूल्य अझै बढ्ला कि घट्ला ?
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको केन्द्रीय बैंकका प्रवक्ताले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नोभेम्भर ३ तारिख अर्थात सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँमा कारोबार भयो भने हिजो मंगलबार १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भयो । सेयर बजारका कारोबारीहरूले समेत सुनमा नै लगानी बढाइरहेको बताइन्छ । लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन् ।

सुन पसल

मूल्य उच्च, कारोबार ठप्प
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्षले उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ रहेको बताउँछन् । ‘भाउ अझै केही बढ्ने नै देखिन्छ । नेपालीहरूको क्रय शक्ति बढेको छैन । त्यसले सुन बजार निकै सङ्कटमा देखिन्छ’ अध्यक्ष रसायली भन्छन्, “सुन यति धेरै महँगो भयो कि नेपालीहरूले अत्यावश्यक नपरीकन सुन किन्ने अवस्था छैन ।’’ राष्ट्र बैंकका प्रवक्ताले नेपालमा ‘विवाहको समयमा मागका दृष्टिले सुनको कारोबार केही बढ्ने’ भए तापनि त्यो अन्तर्राष्ट्रिय बजारकै प्रभावले चल्ने बताउँछन् ।

आन्तरिक माग ‘५० प्रतिशतले खस्कियो’
सुनको भाउ वेपत्ता बढ्दै गर्दा त्यसले आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारिसकेको व्यवसायीहरूले बताएका छन् । “सुनको माग निकै घटिसकेको छ । बिहेको लगनको समयमा पनि दिनको १५–२० किलोग्रामको कारोबार पनि भएका छैनन् जबकी यतिखेर दिनको ४०–५० किलोग्राम हुनुपथ्र्याे,” सुनचाँदी व्यवसायी महासङ्घमा आवद्ध कुमारीपाटी क्षेत्रका एकजना व्यवसायीले भने ।  “माग ५० प्रतिशतले घटिसकेको छ । बिहेको याम सकिएपछि त दैनिक कारोबार ५–१० किलोग्राम मात्र हुने देखिन्छ ।” ग्राहकहरूले नयाँ सुन किनेर गहना बनाउनुको साटो पुरानो मासेर नयाँ गहना बनाउने क्रम बढेको उनी बताउँछन् ।

उपभोक्ता दबावमा
विवाहको समयबाहेक तीजको समयमा समेत नेपालमा सुनको माग निकै बढ्ने गरेको विगतको अनुभव छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्ने भए तापनि नेपालमा सामाजिक–सांस्कृतिक रूपबाट त्यो सम्भव नहुने भएकाले उपभोक्ताको दृष्टिबाट त्यो चिन्ताजनक समेत मान्ने गरिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय रूपमा देखिएका कैयौँ अनिश्चितताको असर सुनमा देखा परेको बताउँछन् । “बीचमा केही घट्ला जस्तो देखिएको थियो तर फेरि बढ्ने क्रम नै लियो,“शाक्य भन्छन् ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको विवरणमा आयातको ३.४ प्रतिशत हिस्सा सुनको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा झण्डै १२ प्रतिशत बढी हो ।

भारतको एक सुन पसल

को खुशी को बेखुशी ?
सुनमा जेलिएका मुख्य चार पक्षमा व्यवसायी, उपभोक्ता, लगानीकर्ता र सरकार हुन्छन् । सबैले सुनमा सुनौलो भविष्य वा अवसर देखेका हुन्छन् । तर विश्लेषकहरू भन्छन् यसरी भाउ अचाक्ली बढ्दा कसैलाई पनि खुशीमात्रै भएको चाहीँ छैन । विश्वका धेरै ठाउँमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्छन् । तर नेपालमा सुनका उपभोक्तालाई त्यो विकल्प कहिले काहीँ प्राप्त हुँदैन । बिहे तथा अन्य घरव्यवहारमा सुनको प्रयोग गर्नैपर्ने अवस्थामा उपभोक्तालाई बढेको भाउले पिरोल्छ । व्यवसायीहरू चाहिँ भाउ बढ्दा घटेको कारोबारले चिन्तित छन् । “एक वर्ष अगाडिसम्म वर्षको ८–९ हजार किलो सुन विक्री हुन्थ्यो । त्यो अहिले नगण्य भएको छ । लकडाउनका बेलामा शून्य कारोबार भयो भने त्यसपछि मानिसहरू आफूसँग भएका सुन विक्री गर्न आउँथे । तर अहिले अझै भाउ बढ्ने आशमा त्यो पनि कम भएको छ’’, अध्यक्ष भन्छन् ।  दैनिक २० किलोसम्म सुन वितरण गर्न पाइनेमा कोरोनाभाइरस सङ्कटका बेला खपत घटाएर विदेशी मुद्राको सञ्चिति जोगाउने उद्देश्यले दैनिक १० किलोसम्म वितरण गर्न पाइने सरकारले निर्णय गरेको थियो । विदेशबाट फर्किएका नेपालीहरूले गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउने नियम त्यति बेला थियो । 

अवसर र चुनौती
लगानीकर्ताको हकमा भने सुनको भाउ अचाक्ली बढ्नु भनेको अवसर र चुनौती दुवै हो । सरकारको लागि पनि सुनको भाउ टाउको दुखाइ बन्न सक्छ । “सुन भनेको गैरवित्तीय सम्पत्ति हो जुन अनुत्पादक मानिन्छ । यसमा मानिसहरूले फाइदा देखेर लगानी गर्न थाले भने त्यो राम्रो हुँदैन’,नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा अर्थतन्त्रका जानकार कृष्णबहादुर मानन्धरले भने । 
‘हाम्रो देशका लागि त झन् खराब स्थिति हो । यदि नेपालीहरूलाई सुनमा पैसा लगाउँदा हुँदो रहेछ भन्ने प¥यो भने त्यसले विदेशी मुद्राको सञ्चिति पनि घटाइदिन्छ’, उनले भने । “अहिले हामी कहाँ बैंकमा पैसा राख्दा थोरै ब्याज आउँछ त्यसैले थोरै ब्याजको लोभ पनि थोरै हुन्छ अनि मानिसहरूले सुनमा पो लगानी गर्नु पर्ने रहेछ भन्ने सोच्न सक्छन् । यसले अर्थतन्त्रलाई राम्रो गर्दैन’, मानन्धरले व्याख्या गरे । राष्ट्र बैंकको आँकडा अनुसार गत वर्षको ११ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको सुन आयात भएकोमा असारमा सकिएको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा त्यो ५६ प्रतिशतले घटेर १३ अर्बमा झरेको छ । आर्थिक मन्दी, अर्थतन्त्रबारे व्याप्त संशय र अनिश्चय, चीन र अमेरिकाबीचको बढ्दो तिक्तताका त्रास आदि सबै कारणले गर्दा अहिले विश्वमा लगानीकर्ताहरूको मन विथोलिएको छ । जब जब लगानीकर्ताहरू के गर्ने र कसो गर्ने मनस्थितिमा पुग्छन् तब तब उनीहरूलाई यो पहेँलो धातु नै प्रिय लाग्ने गर्दछ । ‘हामीले विगतको अनुभव हेर्यौँ भने जब पश्चिमा देशका अर्थतन्त्रमा समस्या हुन्छ तब लगानीकर्ताको रोजाइमा सुन पर्छ । त्यसैले सुनमा लगानी थुप्रँदा यसको भाउ बढ्ने गर्छ’, मानन्धरले भने ।

 

एक केजीमा गुम्छ १२ लाख राजस्व
नेपालमा केही समययता सुन तस्करी ह्वात्तै बढेको प्रहरीले बरामद गरेका ठूल्ठूला परिमाणले पुष्टि गरेको छ । उच्च मूल्यका कारण देशभित्र सुनको खपत अहिले शिथिल भइरहेको छ । नेपाल र भारतमा सुनको मूल्य उस्तैउस्तै भएका बेला अवैध तस्करी हुने गर्दछ । स्रोत देखाउन नमिल्ने पैसेको कारोबारबाट सुन किनिएका कारण तस्करी भएको हुनसक्ने जानकारहरू ठान्छन् ।
कर नतिरेको, भ्रष्टाचार गरेको, अनि आतङ्ककारी क्रियाकलापसँग सम्बन्धित अर्थतन्त्रसँग यस्ता तस्करी कारोबार जोडिने उनीहरू बताउँछन् । अवैध सुन आयातले देशको अर्थतन्त्रमा माथिदेखि तलसम्म शृङ्खलाबद्ध विचलन ल्याउने गर्दछ । अहिले प्रत्येक एक किलोग्राम सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्छ । सोझो हिसाबमै पनि एक सय किलो सुन अवैध भित्र्याउँदा १२ करोडको भन्सार नोक्सानी हुन्छ भने त्यस्ता अवैध सुन नेपालभित्रै खपत गर्ने हो भने पनि स्रोत देखाउन नसक्दा वैध बजारमा कारोबार हुन पाउँदैन ।

सुन

सीमा पार तस्करीको डरलाग्दो परिणाम
सुन तस्करीको अर्को डरलाग्दो पाटो भनेको यसले देशको समष्टिगत आर्थिक स्वास्थ्य अनि अर्थराजनीतिमात्र बिगार्ने होइन कि द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको साख समेत गिराउँछ । ‘सुन तस्करीपछाडिको अर्थतन्त्र भनेको हुन्डीको अर्थतन्त्र हो । बैंकमार्फत् बाहेक कसैले पनि प्रतीतपत्र खोलेर सुन ल्याउन कानुनले दिँदैन । तर यसरी अवैध ल्याएका सुनका निम्ति विदेशी मुद्रा पक्कै तिर्नुपर्छ होला र त्यो यहाँबाट नै तिर्ने होला’, एक जना अर्थशास्त्रीले भने । यसो हुँदा देशको विदेशी मुद्राको ढुकुटीदेखि भुक्तानी सन्तुलन नै खलबलिन्छ ।

नेपाली रुपैयाँ

पृथ्वीका खानीमा अब कति सुन बाँकी छ ?
लगानीका रूपमा होस् वा सामाजिक प्रतिष्ठाका लागि वा थुप्रै विद्युतीय उपकरणको निर्माणका लागि आवश्यक धातुका रूपमा सुनको माग विश्वभरि बढिरहेको छ । संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो । सुन पृथ्वीमा उपलब्ध धातु भएकोले कुनै दिन यो खानीबाट झिक्न नसकिने गरी सकिन्छ । तर यो बहुमूल्य धातु कहिले सकिन्छ त ? विज्ञहरूले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ । कतिपयको विश्वास छ संसार त्यो बिन्दुमा पुगिसकेको छ । सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको जुन सन् २०१८ मा १ प्रतिशतले कम रहेको विश्व सुन परिषद्ले जनाएको छ । त्यो वर्ष सन् २००८ यता पहिलोपटक उत्पादनमा अघिल्लो वर्षभन्दा कमी आएको थियो । आगामी वर्षहरूमा खानीबाट सुन उत्खननमा केही कमी आएपनि उच्चतम बिन्दुमै पुगिसकेको भन्न अलि चाँडो हुने परिषद्ले बताएको छ । उच्चतम बिन्दुमा पुगे पनि त्यसको केही वर्षसम्म सुनको वार्षिक उत्पादनमा नाटकीय गिरावट नआउने विज्ञहरू ठान्छन् । “सुनखानीका उत्पादन स्थिर तहमा पुगेको छ । अब सम्भवतः घट्दै जानेछ । तर नाटकीय गिरावट हुनेछैन,“मेटल्सडेली डटकमका रस नर्म्यान भन्छन् ।

अब कति बाँकी छ ?
खानी कम्पनीहरूले जमिनमा कति सुन बाँकी छ भनेर दुई किसिमबाट अनुमान गर्छन् ।  सुन खानीहरूले जमिनमुनि बाँकी रहेको सुनको मात्रा दुई प्रकारले निर्धारण गर्छन । 
रिजर्भ : सुनको मूल्यको हिसाबले खानीबाट उत्खनन गर्दा फाइदा हुने सुनको मात्रा
रिसोर्स : भविष्यमा सुनको मूल्य बढ्दा वा उत्खनन सस्तो हुँदा उत्खननबाट फाइदा हुने सुनको मात्रा
सुन कति रिजर्भ छ भन्ने कुरा सुनको रिसोर्सभन्दा सजिलोसँग हिसाब गर्न सकिन्न तर त्यो सहज अनुमान भने होइन । अमेरिकी भूगर्भ विभागले जमिनमुनि अब ५०,००० टन सुन बाँकी रहेको आकलन गरेको छ । सन् २०१९ को अन्त्यमा जमिनमाथि अर्थात् संसारभर कुल १९७,५७६ टन सुन रहेको विश्व सुन परिषद्को तथ्याङ्क छ । यी संख्याको आधारमा २० प्रतिशत सुन खानीमा रहेको आकलन गर्न सकिन्छ तर यी सङ्ख्याहरू परिवर्तन हुन सक्छन् ।  सुन उत्खनन कार्य अझ कठिन र महँगो हुँदै गइरहेको छ नयाँ प्रविधिले अहिले फाइदा नहुने सुन उत्खनन गर्न सकिने हुन सक्छ । आर्टिफिसिअल इन्टेलिजन्स, विशाल तथ्याङ्क प्रशोधन र स्मार्ट तथ्याङ्कका कारण सुन उत्खनन खर्च कम हुन सक्छ । केही खानीमा रोबोटहरू प्रयोग गर्न थालिएको छ र त्यो प्रविधि सबै खानी उत्खननमा प्रयोग हुने अपेक्षा गरिएको छ ।

सुनका ठूला खानी
इतिहासमै सबैभन्दा ठूलो सुन खानी भनेको दक्षिण अफ्रिकाको विटवाटर्सर्यान्ड बेसिन हो । अहिलेसम्म उत्खनन भएका करिब ३० प्रतिशत सुन त्यहीबाट निकालिएको हो । दक्षिण अफ्रिकाकै निकै गहिरो एमपोनेङ्, अस्ट्रेलियाको सुपर पिट र न्यूमोन्ट बोडिङ्टन, इन्डोनेसियाको ग्रासबर्ग र अमेरिकाका नेभाडाका खानीहरू सबैभन्दा धेरै सुन भएका खानीहरू हुन् । अहिले सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश चीन हो भने क्यानडा, रुस र पेरु पनि ठूला उत्पादक हुन् । अझै नयाँ सुन खानीहरू पत्ता लागिरहेका भए पनि विशाल खानीहरू पत्ता लाग्न धेरै कठिन हुने विज्ञहरू बताउँछन् । यसको अर्थ अझै पनि दशकौँ पुराना खानीबाटै धेरै सुन उत्पादन भइरहेका छन् ।

उत्खनन नै कठिन
ठूलो परिमाणमा सुन उत्खनन गर्ने कार्य कठिन हुन्छ र यसका लागि जमिनमुनि र माथि निकै उपकरण, विज्ञता र मानव स्रोत आवश्यक पर्छ । विशाल, कम खर्चिलो र पुराना खानीहरूमा सुन सकिँदै गएकाले उत्खनन कार्य कठिन हुँदै गएको छ । चिनियाँ खानीहरू साना छन् त्यसैले खर्चिला छन् । विश्वमा सुन खानी नखोजिएका ठाउँहरू कमै छन् । सङ्घर्षग्रस्त पश्चिम अफ्रिकामा सुनखानी हुनसक्ने अनुमान गरिन्छ ।

बरामद गरिएको सुन

कहाँ होला सुन ?
पृथ्वीमा कति सुन छ भन्ने कुरा ठ्याक्कै थाहा पाउन नसकिए पनि हाम्रो ग्रह मात्रै सुनको खानी होइन । चन्द्रमामा पनि सुन छ । तर अहिलेको मूल्यमा चन्द्रमामा सुन उत्खनन गरेर पृथ्वी ल्याउनु धेरै महँगो पर्छ । ‘त्यहाँ भए पनि उत्खनन गर्नु फाइदाजनक छैन’, अन्तरिक्ष विज्ञ सिनेड ओसुलेभान भन्छन्, ‘बेचेर आउने पैसाभन्दा धेरै उत्खनन गर्दा लाग्छ ।’ एन्टार्टिकामा पनि सुन खानी छन् तर त्यहाँ उत्खनन गर्ने कार्य पनि त्यहाँको चरम मौसममा कहिल्यै फाइदाजनक नहुन सक्छ । समुद्रको भुँइमा पनि सुन खानी छन् तर ती पनि फाइदाजनक छैनन् । खनिज तेलको तुलनामा सुनको फाइदा भनेको यो पुनर्प्रयोग गर्न मिल्छ । त्यसैले सुन खानीमा सुन सकिए पनि संसारमा सुन बाँकी रहन्छ । मोबाइल फोन जस्ता उपकरणमा प्रयोग भएका सुन भने हराएर जान्छन् तर एउटा मोबाइलमा एकदमै थोरै मात्र सुन हुन्छ र ती सुनलाई झिक्ने प्रयासहरू सुरु भइसकेका छन् ।–विभिन्न एजेन्सीहरूको सहयोगमा तयार सामग्री

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार