कर्णालीको कटान रोक्न जैविक तटबन्ध

नागरिकलाई सुरक्षित तवरले राख्न नगरका १२ स्थान छनोट
बिहीबार, असार ३, २०७८

टीकापुर । वर्षा शुरु भएपछि कर्णाली नदी कटान रोक्न र तटीय क्षेत्रमा रहेका नागरिकको सुरक्षा गर्न टीकापुर नगरपालिकाले योजना बनाएर अघि बढ्ने तयारी गरेकोे छ । टीकापुरमा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले टीकापुरका विभिन्न ठाउँमा भइरहेका कटान तथा डुवान नियन्त्रणका लागि समयमै पहल गर्ने निर्णय गरेको हो । तयारी स्वरूप नगरपालिकाले नदी कटान हुने सम्भावित स्थानमा जैविक तटबन्ध निर्माण, तटीय क्षेत्रका नागरिकलाई सचेत गराउन माइकिङ, छलफल, अन्र्तक्रियाजस्ता कार्यक्रम गर्ने भएको छ । यसका साथै तटीय क्षेत्रका नागरिकलाई सचेत गराउन मोबाइलमा एसएमएसमार्फत् सूचना दिने बैठकले निर्णय गरेको छ । नगरपालिकाले बाढी आइहालेमा नगरका १२ स्थानमा नागरिकलाई राख्न सुरक्षित आवासका रूपमा प्रयोग गर्न उच्च घर र विद्यालयसमेत तोकेको छ । टोल तथा बसतीको  अवस्थाबारे जानकारी दिन सम्बन्धित वडाध्यक्षलाई खबर गर्न नगरवासीलाई सूचित गर्ने कार्य गरिने विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए । ‘बाढी तथा डुवान भएमा आवश्यक रबर बोट तथा स्टिमर र अन्य उद्दारसम्बन्धी सामग्री तयारी अवस्थामा राख्ने कार्य थाल्ने भएका छौँ’, चौधरीले भने, ‘यसका लागि टीकापुर क्षेत्रका सुरक्षा निकाय, सङ्घसंस्था र व्यवसायीसँग अनुरोध गर्ने, उहाँहरूको सहयोग लिइनेछ ।’
कर्णाली नदी कटानका कारण टीकापुर—२ स्थित भुराखानी क्षेत्रमा कर्णाली नदी किनारमा निर्मित तटबन्ध वर्षाका कारण कटान शुरु भई पश्चिमी किनारमा रहेका शिवशक्ति वन क्षेत्र, सनकट्टी दौलतपुर क्षेत्र, शाहीपुर गाउँ, सत्ती कर्णाली सामुदायिक वन, अरुणाफाँटा जोखिम अवस्थामा रहेका नगर प्रमुख तपेन्द्रबहादुर रावल बताउँछन् । ‘नगरपालिकाले गरेको स्थलगत निरीक्षणबाट तत्काल प्रारम्भिक रोकथामका कार्य नगरिएमा पुरै तटबन्ध भत्किई कर्णाली नदी जनशक्ति सामुदायिक वन हुँदै गाउँ पस्न गई अकल्पनीय रूपमा धनजनको क्षति हुने प्रवल सम्भावना रहेको छ’, नगर प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, ‘रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट विगतमा नियन्त्रणको कार्य भएकामा नदीको तीव्र बहाबका कारण निर्मित संरचना बगाई लगेको अवस्था छ ।’
नगर प्रमुख रावलले सिँचाइ आयोजनाको एकल प्रयासबाट मात्र प्रभावकारी नियन्त्रण कार्य सम्भव नभएकाले सामुदायिक वन उपभोक्ता समिति, रानी जमरा कुलरिया जल उपभोक्ता समिति, टीकापुर नगरपालिका, स्थानीय प्रशासन समेतको संयुक्त प्रयास आवश्यक देखिएकाले सम्बन्धित सबै निकायहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्नेे  निर्णय भएको बताए । नगरपालिकाले नदी नियन्त्रणका लागि तत्काल खाली बोरामा बालुवा भरी किनारमा रोकथामका कार्य गर्न आवश्यक मात्रामा खाली बोरा र मेशिनरी औजार उपलब्ध गराउन रानी जमरा कुलरिया सिँचाइ आयोजनालाई अनुरोध गर्ने भएको छ ।
जैविक तटबन्ध गर्न नगरपालिकाले जनशक्ति व्यवस्थाका लागि टीकापुरस्थित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी तालीम शिक्षालयमा कार्यरत जनशक्ति र रानी, जमरा कुलरिया तीनै वटा जल उपभोक्ता समितिका जनशक्ति परिचालन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने र थप जनशक्ति व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्नेे भएको छ ।
कर्णाली नदीको पश्चिम किनारस्थित भुराखानी, सनकट्टी, शाहीपुर, अरुणाफाँटा र रानी कुलाको इन्टेक भएको स्थान लगायतका स्थानमा विगतदेखि नै रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट नदी नियन्त्रणको कार्य हुँदै आएको छ । बर्सेनि हुने कटानबाट धनजनको क्षति हुन नदिन थप बजेट व्यवस्थाका लागि सिँचाइ आयोजनामार्फत सरकारको सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख रावलको भनाइ छ । ‘टीकापुर नगरपालिका वडा नं. २ देखि ८ सम्मका कर्णाली नदीबाट जोखिमका रहेका बस्तीलाई सुरक्षित भवनमा जान सूचना दिनेछौँ’, नगर प्रमुख रावल भन्छन्, ‘विपद्बाट नागरिक जोगाउन सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरेका छौँ ।’ साथै नदी कटानका कारण हुनसक्ने जोखिमबाट बच्न सम्बन्धित निकायसँग समन्वयन गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार