कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन गर्न एक करोडजम्मा

मंगलबार, असार १, २०७८

कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई  एक करोड रकम उपलब्ध गराएको छ । लामो समयदेखि सो विमानस्थल सञ्चालनमा  आउन सकेको छैन । विमानस्थल सञ्चालन र स्तरोन्नति गर्न  सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच भएको त्रिपक्षीय साझेदारी अनुसार नगरपालिकाले सो रकम  आइतवार प्राधिरकणका बैंक खातामा जम्मा गरेको हो ।
बाँकी रकम आगामी असोज मसान्तसम्म उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए । विमानस्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानिय तह बीच गत फागुन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो ।
सम्झौतामा मन्त्रालयले ५०, सुप प्रदेशले २५ , भीमदत्तले १५  र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने सहमति भएको थियो  । “विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसंगै एक हजार छ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने  अगाडी बढाउनका लागि सम्झौता भएको हो” भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्टले भने, “विमान स्थलको सुरक्षाका लागि तारवार लगाउने काम पूरा भएको छ । विमानस्थल सञ्चालनका लागि यस अघि सम्भाव्यता अध्ययनसंगै लागत अनुमान पुरा भैसकेको छ ।”
विमानस्थलको रनवे निर्माण गर्नका लागि रु ३७ करोड लाग्ने अनुमान गरिएको छ । रनवेको लम्बाई एक हजार छ सय मिटर हुने बताइएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अबस्थामा रहेको छ । विमान स्थल सञ्चालन भए पछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

महाकाली अस्पताललाई दश लाख सहयोग
भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई आज रु १० लाख  सहयोग गरेको छ । अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकको पारिश्रमिकका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको हो । अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे अनुरुप रकम उपलब्ध गराइएको नगर प्रमुख  बिष्टले जानकारी दिए । “अस्पतालको आन्तरीक श्रोतबाट रकम व्यहोर्न नसकिने भएपछि आर्थिक सहयोग गरेका हौं” उनले भने, “अस्पतालको गुणस्तरीय सेवाका लागि आगामी बर्षमा समेत आवश्यक सहयोग जारी रहन्छ ।” यसअघि नगरपालिकाले अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि रु २० लाख रकम सहयोग गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार