चिनियाँ भेरो सेल खोप एक-दुई दिनमै नेपाल आइपुग्ने 

शनिबार, जेठ १५, २०७८

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको थियो । यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ। हालसम्म दक्षिण एशियामा बाङ्ग्लादेश र श्रीलङ्कासहितका देशलाई उपलब्ध गराइएकोभन्दा बढी कोभिड खोप चीनले नेपाललाई अनुदानमा दिएको छ ।

खोप तयारी अवस्थामा
बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप यो साताको सरुमै नेपाल आइपुग्नेछ। उनले भने, 'चीनले उपलब्ध गराउने १० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा बेइजिङमा तयार अवस्थामा राखिएको छ। त्यसलाई यही मे महिनाको अन्त्यसम्म वा जुनको सुरुमा नै काठमाडौं पठाउने भन्ने कुरा छ।'  उनले बेइजिङबाट नेपाल पठाइने खोप 'चाइना एड' नामक चिनियाँ सहायता निकायमार्फत् आउन लागेको उल्लेख गरे। त्यसलाई काठमाडौंसम्म  ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ। त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ। त्यहाँबाट प्राप्त हुने खोप कुन्मिङबाट आगामी सातासम्ममा काठमाडौं पठाइने र त्यसको व्यवस्था तिब्बत सरकारले मिलाउने नियोग उपप्रमुख लम्सालले बताए । भारतमा कोरोनाभाइरसको महामारी बढेका कारण कोरोनाभाइरसविरुद्धको कोभिशील्ड खोप निर्यातमा नयाँ दिल्लीले कडाइ गरेपछि नेपालले अरू खोप भित्र्याउनका लागि कूटनीतिक प्रयासहरू अघि बढाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले हालै आयोजित पत्रकार सम्मेलनमा अमेरिका, रुस, चीन र युरोपेली सङ्घसहितका निकायसँग खोप उपलब्ध गराउनेबारे कुरा गरेको बताएका थिए।

२० लाख खोप किन्न छलफल
पछिल्लो पटक चिनियाँ खोप निर्माता कम्पनी सिनोफार्मसँग खोप खरिदबारे छलफल अघि बढेको अधिकारीहरू बताउँछन् । बेइजिङस्थित नेपाली नियोग उपप्रमुख लम्सालका अनुसार उक्त कम्पनीले नेपालले खरिद गर्न चाहेको खोपको परिमाणबारे सोधेर पत्राचार गरेको छ। त्यसमा नेपालले २० लाख मात्रा खोप खरिद गर्ने इच्छा व्यक्त गरेको र दुई वटा सरकारको तहमा खरिद गर्ने हिसाबमा कुराकानी भइरहेको लम्सालले जानकारी दिए। चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको भेरो सेल खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मेको सुरुमा आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।
चिनियाँ राष्ट्रपतिसँग कुराकानी भएको एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र लेख्दै नेपालले सीरम इन्स्टिट्यूट अफ इन्डियामार्फत् खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध गराइदिन पहल गर्न अनुरोध गरेकी थिइन् ।  

वितरणको योजना बन्न बाँकी
यसअघि चीनबाट प्राप्त आठ लाख मात्रा भेरो सेल खोप काठमाडौं र आसपासका जिल्लाहरूमा वितरण गरिएको थियो । उक्त खोप गत चैतबाट प्राध्यापक, शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, चीनमा व्यापार गर्ने नेपाली, होटेलसहितका क्षेत्रमा कार्यरत व्यक्ति, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई उपलब्ध गराइएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले अब उपलब्ध हुने चिनियाँ खोपको वितरणबारे निर्णय हुन बाँकी रहेको बताउँछन् ।
उनले भने, 'यो विषयमा हामी चाँडै निर्णय गर्छौं । थोरै खोप हुँदा काठमाडौंमा मात्रै केन्द्रित हुनुपरेको हो। तर थप परिमाणमा प्राप्त भयो भने सबैतिर यो खोप पठाउन सकिन्छ।'

थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त
यसैबीच शुक्रवार बेलायत र फिनल्यान्डबाट प्राप्त स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। बेलायतले उपलब्ध गराएका सामग्रीमा २६० वटा भेन्टिलेटर, एक महिनासम्म पुग्ने भनिएका अन्य सामग्रीहरू र १९,२०० वटा आई प्रोटेक्टरहरू छन्। नेपाल मेड यूकेले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटरहरू पनि हस्तान्तरण गरिएका थिए । फिनल्यान्डबाट पन्जा, मास्क, गाउन, अनुहार ढाक्ने फेसशील्ड सहितका सामाग्री उपलब्ध भएका छन् । महामारीसँग सङ्घर्ष गर्न नेपाललाई अमेरिका, युरोपेली सङ्घसहितका निकायहरूले सहयोगको घोषणा गरेका छन् । महामारीको दोस्रो लहरले स्वास्थ्य प्रणालीमा नै गम्भीर सङ्कट देखा परेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको थियो । त्यसपछि विभिन्न देशहरूले अक्सिजन, भेन्टिलेटरसहित विभिन्न किसिमका स्वास्थ्य सामाग्री नेपाललाई उपलब्ध गराएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार