शुक्रबारदेखि सवारीमा जाेरबिजाेर प्रणाली हट्ने

बिहीबार, पुस २, २०७७

काठमाडौ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार(पुस ३ गते)देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् । जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलिदेखि लागू हुनेगरी हटाएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले असोज १ बाट लगाइएको जोरबिजोर प्रणालीलाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको बताए । २०७६ चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो । त्यसको ४ महिनापछि लकडाउन हटाइएपनि सार्वजनिक सवारी पूर्णरूपमा खुलाइएको थिएन ।कोरोना महामारीको कारण देखाउँदै गत भदौ ३ गतेदेखि अत्यावश्यक सेवा बाहेकमा लगाइएको निधेषाज्ञा असोज १ बाट हटाइएको थियो तर त्यसपछि भने उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बाहेकका सवारीमा जोरबिजोर लगाइएको थियो ।

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने
यसका साथै यातायात व्यवसायीले पनि शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार