बंगलादेशबाट ५० हजार टन युरिया मल ल्याउने सम्झौता

तीन महिनाभित्र आइपुग्ने
बिहीबार, पुस २, २०७७

काठमाडौं । बंगलादेशबाट ५० हजार टन युरिया मल ल्याउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार दिउँसो कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इण्डिस्टिज कर्पाेरेसन (सिसिआइसी) बीच मल खरिद–बिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो हस्ताक्षरपछि तीन महिना भित्र बंगलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ । चार महिनाअघिबाट बंगलादेशी मल ल्याउन विभिन्न तहमा छलफल भएपनि बिहिबार सम्झौतापत्रमा औपचारिक हस्ताक्षर भएको हो । 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बंगलादेशबाट चाँडै मल ल्याएर किसानहरुलाई बितरण थाल्ने जानकारी दिए । 
‘हामीले यसअघि विभिन्न चरणमा गरेको छलफलपछि बंगलादेशबाट ५० हजार टन युरिया ल्याउन सम्झौता गरेका छौं’, उनले भने, ‘अब चाँडै मल ल्याएर किसानलाई उपलब्ध गराउनतर्फ हाम्रो ध्यान हुनेछ ।’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बल्क र कार्गाे दुई विधिबाट मल ढुवानी हुनेछ । ‘बंगलादेशबाट मल आएपछि किसानहरुलाई सहजै उपलब्ध गराउने हाम्रो नीतिमा थप बल पुग्नेछ । यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल प्रशस्त मात्रामा रहेको सन्दर्भमा आगामी दिनमा मलको अभावहुन नदिन मन्त्रालयबाट अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिहरु समेत तयार भइरहेको छ’, प्रवक्ता केसीले भने । बंगलोदशले आफैं उत्पादन गरेको मल नेपाललाई दिन लागेको हो । बंगलादेशको मलको दाना ठूलो र गुणस्तरीय हुने भएकाले नेपाली किसानले लाभ उठाउने मन्त्रालयको भनाई छ । 
बंगलादेशबाट शुरुका दिनमा पैचोंमा ल्याउने योजना बनाएपनि अन्ततः खरिद गरेरै ल्याउन लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मुलुक बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच नेपालका लागि युरिया मल आपूर्ति गराइदिने विषयमा टेलिफोन वार्ता भएको करिब साढे तीन महिनापछि बिहीबार नेपाललाई बंगलादेश सरकारले आपूर्ति गराउन सम्झौता भएको हो । दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा नेपालका प्रधानमन्त्री ओलीले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल पैँचो मागेका थिए । तर युरिया मल पैँचो ल्याउन सम्भव नभएपछि ‘जीटुजी’ अर्थात बंगलादेश सरकारबाट नेपाल सरकारले किन्नेबारे बिहीवार सम्झौता भएको बंगलादेशस्थित नेपाली राजदूत वंशीधर मिश्रले बताए । अबको १० दिन भित्रमा बंगलादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउनेगरी काम भइरहेको छ । 

सम्झौता गर्न किन ढिलो ?
बङ्लादेशबाट नेपालमा युरिया मल पैँचोमा ल्याउने दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको थियो । तर बङ्गलादेश सरकारले पैँचो दिन नसक्ने जनाउ दिएपछि पुनः सरकारले नै खरिद गरेर ल्याउने प्रक्रिया अगाडि बढाइएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् । अहिलेसम्म बङ्गलादेशले त्यसरी मल अन्य देशलाई अनुदानमा दिने वा बेच्ने गरेको थिएन । बङ्गलादेशका लागि पनि नयाँ अनुभव हो । 

रासायनिक मलको अभाव किन
मल नेपालसम्म ढुवानी गर्नका लागि प्याकेजिङको पनि समस्या आएको बताइएको छ । नेपाल र बंगलादेशका कर्मचारीहरूबाट पनि काम ढिलो भयो । धेरै दिनसम्म सम्झौता गर्ने विषय मन्त्रिपरिषद्मा पनि अड्केर बस्यो । 
सम्झौता नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पाेरेशनबीच भएको हो । विदेशबाट मल नेपाल भित्र्याउँदा अहिले साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले प्रतिमेट्रिक टन ३५९. ९५ डलरमा टेन्डर गरेको थियो । बंगलादेशबाट ल्याइने युरिया मल ढुवानीसहित ३४१.४४ डलर पर्नेछ । अहिलेको मूल्याङकनमा पनि एक मेट्रिक टनमा १८.५१ डलर सस्तो परेको छ । सबै हिसाब गर्दा ५० हजार मेट्रिक टनमा नेपाललाई १० करोड रुपैयाँजति सस्तो परेको छ । बंगलादेशबाट ल्याइने मल सस्तो पर्ने सरकारी अधिकारीहरूले बताइरहँदा ढुवानी व्यवसायीहरूले नेपालभित्रैको ढुवानीको आर्थिक भारले किसान मारमा पर्ने सम्भावना रहेको बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार