महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवामा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले

आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
बिहीबार, वैशाख १३, २०८१

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।  मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका जानकारी दिए । 

‘बुधबार दिउँसोबाट लागेको करिब ७ घण्टापछि नियन्त्रणमा आयो,’ उनले भने, ‘अहिलेसम्म ९७ घर जलेर नष्ट भएको तथ्यांक संकलन भएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ ।’  उनका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन् । 
‘रेडक्रसले केही त्रिपाल बितरण गरेको छ । लत्ताकपडाहरु केही उपलब्ध गराउन सकिएको छैन,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘खानका लागि राति दालमोठ र चिउरा बितरण गरिएको थियो । अब व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।’ उनका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामाग्री जुटाइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार