मानव सेवा नै सर्वोत्तम सेवा हो, यसमा सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

बुधबार, वैशाख १२, २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताएकी छन् ।  नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले हिजो मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको बताइन् । उनले भनिन्, ‘मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।’ एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । ुआज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भए पनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसका लागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छुु, उनले भनिन्,  ‘मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ । देशभरका विभिन्न ठाउँमा यस्ता शाखा स्थापना गरी तपाईंहरूले गरिरहनुभएको कार्य निकै ठुलो मानव धर्म, मानव उपकारको कार्य हो ।’
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उनले भनिन्,  ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनुभएको थियो । यो चिजमा पनि यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी यो जुन काम गर्नुभएको छ । त्यसका लागि यसका संस्थापक सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।  आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उनले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताइन् ।  
मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उनले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।  तर कानूनमा अझै पनि केही कमी रहेको भन्दै उनले ती कमीलाई पुरा गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।  ुतपाईँहरूका निम्ति बनाइएका ऐन, कानूनमा भएका व्यवस्थालाई तल तलसम्म कार्यान्वयन तहमा ल्याउनका लागि अझै पनि केही कमी छन् । ती कमीहरूलाई पनि पूरा गर्न अथवा सेवाग्राहीसम्म सरकारको सेवा पुर्‍याउनका लागि यहाँहरू जस्ता व्यक्तिहरूलाई ठाउँ दिएर काम अगाडि बढाइनेछु, मन्त्री चौधरीले भनिन् ।  मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उनले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताइन् । 
उनले नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।  त्यस अवसरमा मन्त्री चौधरीले आश्रमको अवलोकन समेत गरेकी थिइन् । 
त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गरेका थिए । 
कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताइन् ।  त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, अर्थ विभागीय कार्यसमितिका अध्यक्ष मधुसूदन पौडेलले संगठनका तर्फबाट सकेको सहयोग हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार