बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने

बिहीबार, वैशाख ६, २०८१

बर्दिबास । मुलुकको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।  यसैक्रममा बर्दिबासमा पाँच तारे होटल निर्माण सुरु भएको छ । बर्दिबासको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँच तारे होटल निर्माण गर्न लागिएको हो । बर्र्दिबास नगरपालिका वडा नं १ मा होटल ‘रामिणी’को आजदेखि  निर्माण सुरु भएको होटलका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए । “होटल निर्माणको आज साइत गरिएको छ, अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण भइसक्ने छ”, उनले भने, “होटल निर्माणपछि  व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ ।” अध्यक्ष घिमिरेका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभइ जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए । “रामिणी पनि सीता माताको अर्को नाम हो, हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौँ, होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गरिने”, उनले भने । कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने होटल कूल एक अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा बैंकको ६० प्रतिशत ऋण लगानी रहनेछ । अध्यक्ष घिमिरेका  अनुसार सात÷साता तलाका दुई वटा भवन बन्ने छन् भने होटलमा ८२ वटा रुम हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले जस्तै क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन् । हाल नेपालमा पाँच तारे होटलको संख्या २२ छन् भने चार तारे होटलको संख्या ३४ पुगेको छ । होटल संघका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् । होटलकी प्रबन्धक श्रेया पाँडेले बर्दिबासमा सुविधा सम्पन्न होटलको सुविधा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण सुरु गरेको बताइन् । उनले बर्दिबासदेखि भारतका दरबन्दा र सीतामाडीलगायत मुख्य बजारहरुलाई समेत लक्षित गरिएको उल्लेख गरिन् ।  “हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो, त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र छिमकी मुलुक भारतीय बजारलाई पनि लक्षित गरेका छौँ”, उनले भनिन् । उनका अनुसार हाल भारतका विभिन्न होटल ब्राण्डसँग छलफल भइरहेको र निकट भविष्यमै टुंगो लाग्ने समेत जानकारी दिइन् । उनका अनुसार होटलमा एक सय १० भन्दा बढीले रोजगार पाउनेछन् । जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार