सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु 

विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान 

आइतबार, वैशाख २, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आजदेखि सुरु भएको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानमा बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरी नियमितरुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।  शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको अवसर पारे दिएको शुभकामना सन्देशमा उनले विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउनका आह्वान गरेका हुन् । 
‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष विक्रम संवत् २०८१ को सुरूवात्सँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको छ । यस अवसरमा म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउनका लागि हार्दिक आह्वान गर्दछु’ प्रधानमन्त्रीको अपिलमा भनिएको छ ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार हो। यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ। गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि नेपाल सरकारले विभिन्न प्रयासहरु गर्दै आएको छ । नेपाल सरकारले वर्षेनी विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ प्रधानमन्त्रीले अपिलमा स्मरण गरेका छन् ।

WhatsApp-Image-2024-04-14-at-08.40.41-1713063851.jpeg
हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ। यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ। सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको छ । विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका छन्। यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन हाम्रा सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा लिएको छु उनले भनेका छन् ।
‘गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएका छौँ । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका छन् । यो महत्वपूर्ण प्रबन्धका निम्ति नेपाल सरकारको तर्फबाट सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै पाठ्यपुस्तकको बितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछु’ प्रधानमन्त्रीले भनेका छन् ।
‘अन्त्यमा, २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वाससहित फेरि एकपटक समस्त नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार